नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

|

काठमाडौँ । पश्चिम नेपालको व्यापार, पर्यटन र यातायात सुविधाको विस्तारका लागि नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ सेवा सञ्चालन गर्न माग गरिएको छ।

सो माग बाँके र बर्दियाका जनप्रतिनिधि तथा उद्योगी–व्यवसायीको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राखेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिमका ३२ जिल्लाका यात्रु तथा व्यवसायिक समुदायलाई सहज र छिटो सुविधा पुग्ने गरी सिधा हवाइ सेवा सुरु गर्न माग गरिएको हो।
नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो सेवा सञ्चालनले नेपाल–भारतबीचको व्यापार, पर्यटन र सांस्कृतिक आदान–प्रदानमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे।

मागपत्र ग्रहण गर्दै प्रधानमन्त्री ओलीले यस विषयमा सकारात्मक संकेत दिएका छन्। उहाँले भारत सरकारसँग छलफल अघि बढाइने आश्वासन दिँदै नेपालगञ्ज विमानस्थलको धावनमार्ग विस्तार र जमिन संरक्षणजस्ता पूर्वाधारका काममा पनि सरकारले प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभयो।

२०८२ श्रावण २७, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।