
नेपालगन्ज । “रगत दिऔं, आश जगाऔं सबै मिलेर जीवन जोगाऔं !” भन्ने २१ औं विश्व रक्तदाता दिवसको नाराका साथ, गोपाल नीना फाउन्डेसन नेपाल र जनमत साप्ताहिकको आयोजनामा तथा रक्त सञ्चार सेवा केन्द्र, नेपालगन्जको प्राविधिक सहयोगमा जेठ २४ गतेका दिन अन्नपूर्ण ग्याष्ट्रो केयर हस्पिटल, नेपालगन्जमा एक बृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
उक्त कार्यक्रमको उद्घाटन गोपाल नीना फाउन्डेसन नेपालका संस्थापक डा. गोपाल श्रेष्ठ र संस्थापक सदस्य डा. नीना पन्त श्रेष्ठज्यूले रक्तको थैला (blood bag) हस्तान्तरण गरी गर्नु भएको थियो।
कार्यक्रममा ६२ जना रक्तदाताहरूले सक्रिय सहभागिता जनाएका थिए। संकलित सम्पूर्ण रगत रक्त सञ्चार सेवा केन्द्र, नेपालगन्जलाई विधिपूर्वक हस्तान्तरण गरिएको छ।
कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाताहरूलाई यस संस्थाका अध्यक्ष एवं डा. गौरव श्रेष्ठज्यूले प्रमाणपत्र प्रदान गरी सम्मान गर्नु भएको थियो। उक्त रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्व, मानवता र जीवन बचाउने सेवाभावमा समुदायलाई प्रेरित गर्ने महत्वपूर्ण योगदान दिएको छ।