
बारा । विद्यार्थीहरूमा सामान्य ज्ञान र चौतर्फी विकासको उद्देश्य राखी आज शुक्रबारका दिन अतिरिक्त क्रियाकलाप अन्तर्गत श्री गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालय , महागढीमाई नगरपालिका वडा नं. १, बरियारपुर बारामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
कक्षा ९ र १० का विद्यार्थी भाइबहिनीहरूलाई नेपालका हिमालहरूको नामाकरणबाट आठ वटा समूहमा विभाजन गरी अन्तरसदनात्मक रुपमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।
जम्मा ५६ वटा प्रश्नोत्तर राखिएको हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान सगरमाथा , द्वितीय स्थान धवलागिरी , तृतीय स्थान ल्होत्से समूहका विद्यार्थीहरू विजेता भएका थिए । विजेता विद्यार्थीहरूलाई अबिर तथा पुरस्कारद्वारा पुरस्कृत गरिएको छ । हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक श्रीधर भण्डारीले गर्नुभएको थियो । त्यस्तै विद्यालयमा १७ सदस्यीय गढीमाई बाल क्लब समेत गठन गरी कार्यविभाजन , रजिस्टर हस्तान्तरण र जिम्मेवारी बोध गराइएको छ ।