
बुटवल / बुटवलको होराइजन चोकस्थित मिलिजुली पथमा ३३ वर्षीया दीपा बस्यालसहित उनको छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीको विभत्स हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।
हत्याको अनुसन्धानका लागि सुजन कोइराला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्कीले जानकारी दिएका छन् । प्रहरीका अनुसार उनी दीपाका पूर्व श्रीमान हुन् । उनले आफ्नै दाजुको हत्या गरी जेल चलान भई केही वर्षअघि संविधान दिवसको दिन कैद माफी पाएर छुटेको बताइएको छ ।
हत्या गर्ने सुजन र मृतक दीपा पूर्व पतिपत्नी रहेको र केही वर्ष पहिले नै सम्बन्धविच्छेद भइसकेको प्रहरीले जनाएको छ । दीपाले सुजनसँग सम्बन्धविच्छेद गरी नवलपरासीका शंकर ढकालसँग विवाह गरेकी थिइन् । सुजनले दीपालाई मंगलबार आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर हत्या गरेको प्रहरीले जनाएको छ । तीनै जनाको शव घन र चक्कु प्रहार गरी हत्या गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सुजन र दीपा पूर्वपति पत्नी भए पनि हत्या गरिएका बालिकाहरू भने शंकर ढकाल तर्फका रहेको प्रहरीले जनाएको छ।