
बाके । डुडुवा गाउँपालिका वडा नम्बर ६ मा रहेको जयन्दु बाल सुधार गृहमा बालबन्दीहरूबीच झडप हुँदा १५ जना घाइते भएका छन् । कुटाकुटका क्रममा उनीहरुको हातखुट्टा , टाउको लगायतका अंगहरुमा चोट लागेपनि खतरामुक्त रहेको छ । बाल सुधार गृहमा उत्पन्न तनाव अहिले नियन्त्रणमा आएको छ । बालबन्दीहरूले सुरक्षाका लागि खटिएका प्रहरीमाथि समेत इँटा प्रहार गर्दा केही प्रहरी समेत घाइते भएका छन् ।
घटनापछि २५५ जना बालबन्दी मध्ये प्रहरीले २२ जनालाई नियन्त्रणमा राखेको छ । ३५ जनालाई आजै बाँकेको नौवस्ता कारागारमा पठाइएको छ । बाल सुधार गृहमा १२ जना प्रहरी बस्दै आएका थिए । बाल सुधार गृहमा आगजनी हुँदा भवनको दोस्रो तलामा क्षति पुगेको छ ।
उक्त बाल सुधार गृहमा हरेक वर्ष झडपका घटना हुँदै आएका छन् । गत वर्ष भएको झडपमा एक जनाको मृत्यु भएको थियो । ‘बालबिज्याइँ’ मुद्दामा अदालतबाट सजाय पाएकाहरूलाई १८ वर्ष उमेर पूरा भएपछि पनि बाल सुधार गृहमै राख्ने गरिएको छ । जसका कारण पटक–पटक झडपका घटना दोहोरिने गरेका छन् ।