यमपञ्चक सुरु, आज धनतेरस

|

काठमाण्डौं / नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । आज धन त्रयोदशी अर्थात् धनतेरस मनाइँदै छ । धनवन्तरी जयन्ती भने भोलि बुधबार परेको छ । तर काग तिहार भने भोलि परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

आज मंगलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ । यमदीपदान भने कात्तिक १४ गते अर्थात् भोलि बुधबार परेको छ । कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइन्छ ।

कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार मनाउनुपर्छ । कात्तिक १६ गते शुक्रबार औँशी परेको छ । त्यस दिन भने तिहारको कुनै पर्व नपरेको समितिले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ ।

कात्तिक १८ गते आइतबार बिहान ११ः ३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । उनका अनुसार पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने छ ।

नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने बताइएको छ । दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ । आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाइन्छ । विशेष गरी मिथिला क्षेत्रमा धातुका सामान किनेर  पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने परम्परा छ ।

दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुसी पार्न यो पर्वको परम्परा चलेको मिथिला संस्कृतिका ज्ञाता बताउँछन् । मिथिला क्षेत्रमा ‘दिवाली’को पहिलो दिन नै बजारबाट किनेर ल्याइएको धातुका गहना वा भाँडालाई लक्ष्मीको प्रतिमा स्थापित गरिएका ठाउँमा पूजा गरेर यो पर्व विधिवत् सुरु गरिने परम्परा छ ।

सन्ध्याकालमा दीप प्रज्ज्वलनसँगै धनतेरसको पूजा गरेर ‘दिवाली’ पर्व सुरु गरिन्छ । पर्व विशेषका कारण आज तामा, पित्तल र काँशका भाँडा पसल तथा सुनचाँदीका गहना बनाउने पसलमा ग्राहकको भीडभाड रहन्छ । आज किनिएको सामान शुभफल दिने, टिकाउ र नाफा दिने हुने जनविश्वास छ ।

२०८१ कार्तिक १३, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।