काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई ४-२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।
निर्धारित समयमा खेल १(१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । यसअघि एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् ।
यस अघि भारतले खेलको ७० औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता हासिल गरेको थियो । खेलको ७० औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले तुरुन्त खेल शुरु गरेर गोल फर्काएको थियो । तर रेफ्रीले नेपालको गोललाई भने मान्यता नदिएपछि नेपालले विरोध गरेको थियो । लामो विवाद भएपछि खेल एक घण्टाभन्दा बढी समय अवरुद्ध बनेको थियो ।
त्यसअघि खेलको ५० औं मिनेटमा रेखा पौडेलले दोहोरो पहेलो कार्ड पाउदै रातो कार्ड पाएपछि दर्शकले अवरोध गरेका कारण खेल १० मिनेटभन्दा बढी अवरुद्ध भएको थियो । अब फाइनलमा नेपालले आगामी बुधबार बंगलादेशसँग खेल्ने छ ।