नेपालगन्जमा आदीबासी जनजातिको कला संस्कृति जोगाउन महोत्सव हुदै

|

नेपालगन्ज / नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् बाँकेले नेपालगन्जमा महोत्सव गर्ने भएको छ । महासंघले यही कार्तिक २९ गतेदेखि मङ्सिर १८ गतेसम्म नेपालगन्जको वाटरपार्कमा ‘प्रथम कृषि, पर्यटन प्रवर्धन, व्यापारिक संरक्षण तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१’ सञ्चालन गर्न लागिएको आइतबार नेपालगन्जको वौद्ध गुम्बामा पत्रकार सम्मेलन गरी आयोजकले जनाएको छ । पत्रकार संम्मेलनमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् बाँकेका अध्यक्ष डम्बरबहादुर थापामगरले आदिवासी जनजातिका परम्परागत रीतिरिवाज, चालचलन, कला, संस्कृति, भेषभूषा हराउँदै गएकाले संरक्षण, जगेर्ना र प्रवर्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको बताए ।

‘विश्वभरी फैलिएका हामी जनजाति हामी आदिवासी, जोगाइ राखौं भेषभूषा, भाषा, संस्कृति’ भन्ने मूल नाराका साथ ‘प्रथम कृषि, पर्यटन प्रवर्धन, व्यापारिक संरक्षण तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१’ को आयोजना गर्न लागिएको छ । कला तथा संस्कृति संरक्षणका साथै संस्थाको भवन निर्माण सहयोगार्थ सञ्चालन गर्न लागिएको महोत्सवमा राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुले मनोरञ्जन प्रदान गरिने महोत्सवका व्यवस्थापक गोपाल पुनले बताए । महोत्सवमा औद्योगिक तथा व्यापारिक सहित २५० स्टल रहनेछन् । महोत्सवभर आदिवासी जनजातिका कला, संस्कृतिसम्बन्धी पौराणिक कला जातीय भेषभूषाको प्रदर्शन गरिने, कृषि पर्यटन हस्तकलासहितका स्टलहरु राखिने, लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्टलहरु प्रदर्शनी गरिने भएको छ । महोत्सवमा आदीबासी जनजातिको जातिय खाना प्रदर्शनीका लागि निशुल्क स्टलको व्यवस्थापन गरिने आयोजकले जनाएको छ । बिगतका महोत्सव भन्दा केही फरक तरिकाले महोत्सव आयोजना गरौं, भनेर लागिएको अध्यक्ष थापामगरले बताए । महोत्सव सफल बनाउका लागि सबैले साथ र सहयोग गरेमा जिल्लाकै नमुना महोत्सव हुने आपेक्षा समेत आयोजकले गरेको छ ।

२०८१ कार्तिक ४, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।