बाँके/ बाँकेको खजुरा–६ सिमलघारीबाट ढाई वर्षिया नाबालिका खाने चितुवा बालिका खाएको १९ दिन पछि नियन्त्रणमा आएको छ । स्थानीय बिरेन्द्र पुनकी ढाई वर्षिया नाबालिका छोरी लक्ष्मी पुनलाई भाद्र ३० गते राती घरबाट लगेर खाने चितुवा घटना भएको १९ दिन पछि पासोमा परेको हो ।
बालिका मृत अवस्थामा भेछिए लगत्तै बाँके र बर्दियाका बन कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय चितुवाको खोजिमा लागेका थिए । चितुवा नियन्त्रणका लागि आधुनिक खोर सामुदायिक जङ्गलमा राखिएकोमा १९ दिन पछि चितुवा खोरमा फँसेको हो । चितुवा नियन्त्रणका लागि बाँके र बर्दियाको बन तथा निकुञ्जका प्राबिधिकहरु निरन्तर खटिएका थिए ।
खजुरा गाउँपालिकाको आग्रहमा खटिएको टोलिले गयराती चितुवालाई नियन्त्रणमा लिन सफल भएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले जानकारी दिए । उनले अहोरात्र खटिने बन र निकुञ्जका कर्मचारीलाई धन्यबाद दिँदै स्थानीय जनप्रतिनिधि , ईलाका प्रहरी कार्यालय, गिजरा समुदायिक बन समितिलगायतलाई पनि धन्यबाद ज्ञापन गरेका छन् ।
नियन्त्रणमा आएको चितुवालाई हाल बन डिभिजन कार्यालय बाँकेमा लगिएको छ । नियन्त्रणमा आएको चितुवालाई बर्दिया निकुञ्जमा छाड्न आग्रह गरिएको अध्यक्ष तुफानले बताए । बाँके निकुञ्ज छाड्दा पुनः गाउँमा आउन सक्ने भन्दै बर्दिया लैजान आग्रह गरिएको उनले बताए ।
सिमलघारीका बालिका खाएपछि बेपत्ता भएको चितुवा खजुरा ३ बि गाउँ र वडा नम्बर ३ को सी गाउँमा देखा परेपछि स्थानीयमा त्रास फैलिएको थियो । बाँके र बर्दियाको बीचमा पर्ने त्यो मानखोलाको जंगलमा यसअघि पनि पटक–पटक बाघ देखा पर्ने गरेको थियो । मानखोला पारी बर्दियातर्फको जंगल पातलो भएपनि वारी बाँकेतर्फ ठूलो झाडी रहेको छ । त्यहाँ बच्चासहित बघिनी देखा पर्ने गरेको स्थानीयले बताएका छन् । बाँके र बर्दियाका राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै राष्ट्रिय तथा सामुदायिक वनमा बाघ देखा पर्ने गरेका छन् ।