
काठमाडौं
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अहिलेसम्म संक्रमण देखिएकामध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्तिहरु रहेको बताएका छन् ।
उनले अहिलेसमम देशमा संक्रमण भएका १३ हजारमध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदाय स्तरमा फेला परेको बताए।
मन्त्री ढकालले सोमबारसम्म करिब १३ हजार संक्रमितको संख्या पुगेको र त्यसमध्ये ३ हजार २०० निको भइसकेकाले अहिले पनि नियन्त्रणमै रहेको बताए र दैनिक १० हजार पिसिआर परीक्षण गर्ने गरी ल्याबहरुको विस्तार गर्न लागेको समेत जानकारी दिए ।
अहिले देशभर २२ वटा पिसिआर ल्याबबाट दैनिक ७ हजार ७९१ परीक्षण सम्भव भएको र अबको केही दिनभित्र देशभर ३३ वटा ल्याब पुर्याई दैनिक १० हजार परीक्षण गर्ने तयारी गरिएको बताए ।
उनले रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले अप्ठ्यारो अवस्थामा बिरामीको उपचारमा प्रयोग गरिने भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री उपलब्ध गराउँदा स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैको मनोबल बढेको बताए ।
नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले सातवटा भेन्टिलेटरसहित गगल्स ३०० थान, सर्जिकल मास्क १ हजार १५० थान, डिस्पोजेबल कभर ५५० थान, ग्लोब्स २० हजार थान, बुट ४५० थान, स्यानिटाइजर २५० वटा, सोडियम हाइड्रोक्लोराइड ५ लिटरको ४५० ग्यालेन र साबुन १५ हजार थान सहयोग स्वरुप उपलब्ध गराएको हो ।
आज पहिलो चरणमा केही मास्क, स्यानिटाइजर, साबुन, गगल्स लगायतका सामग्री उपलब्ध गराएको हो । भेन्टीलेटर भने दोस्रो चरणमा उपलब्ध गराउने रेडक्रसले जनाएको छ ।
एक करोड ५७ लाख रुपैयाँ बराबरको यी स्वास्थ्य सामग्री दुई चरणमा उपलब्ध गराइने रेडक्रसले जनाएको छ ।
२०७७ असार १७, बुधबार प्रकाशित