आज बुबाको मुख हेर्ने दिन, बुबालाई सम्झिदा -डा.डोल्मा लामा

|

अमेरिका/आज भाद्र कृष्ण औंसी बुबाको मुख हेर्ने दिन । आज देशभित्र र बाहिर नेपालीहरु रहेका स्थानमा पितालाई विशेष सम्मान गरी यो पर्व मनाइदैछ ।
नेपाली संस्कारमा हरेक यस्ता दिनहरुले बिशेष महत्व बोकेको हुन्छ । कुशे औंसी (बाबुको मुख हेर्ने) दिन विधिअनुसार पिता गुमाएकाहरूले भने उपत्यकाको उत्तर-पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ ।

गोकर्णे औँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीहरुबाट परम्परा अनुसार आ-आफ्ना बाबुलाई  मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गरिन्छ । 

बाबु हुनेले प्रत्यक्ष भेटघाट तथा कुराकानी गर्ने,दु:ख सु:ख साट्ने, माया एंव सदभाव बाड्ने र बाबुको याद गर्ने दिन जसलाई कुशे औंसी भनिन्छ ।आज सबैजनाले सामाजिक संजालमा आफ्नो पिताको तस्विर शेयर गरि माया,सद्भाव र सम्मान ब्यक्त गरिरहेका छन् ।

यसै सन्दर्भमा केहि दिनदेखी नै बाबा सपनामा आईरहने र मनमा उकुसमुकुस भैरहने र मनमा छटपटी जस्तो भईरहने र बाबाले बेला बेलामा भनिरहनु हुने कतिपय शब्दहरु मनमा गुञ्जिरहेको महसूस गरिरहेकी छु ।

कानमा बुबाले संसार छोड्नु अघि मेरा लागी भनिरहनुहुने अविस्मरणिय शब्द “छोरी तिमी हाम्रो एक्ली सन्तान मात्र हैन, यो हाम्रो समाजको प्रतिनिधिमुलक पात्र बन्न सक्नुपर्ने छ, म सधै त्यो देख्न चाहन्छु”
म जहां भएपनि मैले देख्नेछु भन्नुहुन्थ्यो,त्यतिबेला खासै यो कुराहरुमा मैले चासो पनि राखिन।

जीवनमा जुन चिज आफ्नो साथमा हुन्छ त्यसबेला महत्व हुदैन, जब अभाव हुन्छ त्यतिखेर त्यसको अत्यन्तै महत्व हुन्छ यो मेरो भोगाई हो ।
र जीवनमा आईपर्ने चुनौतीहरुलाई अगाल्दै आफ्नो लक्ष्य प्राप्तीको लागि यतिबेला मातृभूमि भन्दा टाढाबाट बुबालाई सम्झिरहेकी छु,भौतिक रुपमा देख्न, कुराकानी गर्न नपाएपनि दुख र सुखको क्षणमा सम्झना धेरै आईरहन्छ, कमजोर महसुस कहिल्यै नगर्नु भन्ने अटल साहस एंव उदारवादी र दुरदर्शि सोचका साथ हजुरले दिनुभएको सल्लाहलाई सदैव सम्मानका साथ सम्झना गरिरहेको छु ।

हाम्रो तामाङ समुदायमा छोरीलाई मेलापात, खेतीपाती र चांडै विवाह नगरेर यो छोरीलाई किन पढाईरहेको ? भनेर मलाई सोधिरहने हाम्रो यो पितृसत्तात्मक समाजलाई धेरै पढेर उदाहरण बनिदेउ र समुदायको लागि एक प्रेरणाको स्रोत बन्नुपर्छ छोरी ! भन्ने गर्नुहुन्थ्यो ।

तर दुर्भाग्यबश मैले विध्याबारिधी हासिल गरेको खुशि साट्न भने पाईन, कंयौ रात हजुरको अभावमा/सम्झनामा शिरानी भिजेको पत्तै पांउदिन , अनी मनमनै जीवन सघर्षको हरेक मोडमा याद गर्दै पक्कै बुबाले हेरिरहनु भएको हुनेछ भन्ने विश्वास पनि लाग्छ।

बाबा हजुरसँग बितेका तितामिठा पलहरुको सम्झना राख्न चाहन्छु, भौतिक शरिर नरहेपनि बिशुध्द अन्तरआत्मा देखी शब्दको गुच्छाले पुज्दै हार्दिक श्रदासुमन ब्यक्त गर्दछु।

त्यो दयालु आत्मा र म प्रतिको न्यानोपनलाई सलाम गर्दै निर्दोष माया गर्दछु साथै मलाई अफ्ठेरो परेको बेला सपनामा आएर भएपनि आशिर्वाद दिईरहनुहोला।
अन्त्यमा कुशे औशी (बाबुको मुख हेर्ने) पर्वको अवसरमा सम्पुर्ण  नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई हार्दिक शुभकामना!

२०८१ भाद्र १६, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।