
(अमेरिका) । ग्याँस स्टेशनमा काम गर्ने क्रममा आइतबार बिहान लुटेराको आक्रमणमा परेर टेक्ससमा ३० बर्षिय एक नेपालीको निधन भएको छ ।
टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेशनमा कार्यरत ३० बर्षिय नेपाली दीपक वलीलाई लुटेराले गोली हानेर हत्या गरेका हुन् । अन्दाजी बिहान ५ बजेको समयमा वली कार्यरत ग्याँस स्टेशनमा आएर दुई लुटेराले गोली प्रहार गरेको बताइएको छ ।
तीन जनाको समुहमा आएका लुटेरा मध्य एकजना भने बाहिर गाडीमै बसेको र दुईजना स्टोरमा पसेर हत्या गरेको बुझिएको मृतकका आफन्त तथा मोहन कुसारीले जानकारी दिए ।
लुटेराहरुले उनलाई गोली प्रहार गर्नु अघि बिहान ३ बजेतिर अर्कै ग्याँस स्टेशनमा पुगेर लुटेका थिए । त्यहाँ पनि नेपाली क्लर्कनै कार्यरत थिए । त्यसमा भने लुटेर क्लर्कलाई कुटपिट गरेका थिए ।
एक जना श्वेत र अर्का अश्वेत लुटेराहरुले स्टोरमा पसेर एक्कासी गोली प्रहार गरेको र उनको घटनास्थलमै निधन भएको थियो ।
रुकुमको बाँकेकोट–१० घर भएका वली गत वर्षमात्र अमेरिका आएका हुन् र नेपालमा उनको ५ बर्षिया छोरी, पत्नी र मातापिता मात्र रहेका छन् ।