
नेपालगन्ज / नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले नेपालगन्जमा सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम पर्यटन महोत्सव गर्ने तयारी गरेको छ । आगामी चैत ६ देखि १८ गतेसम्म महोत्सव सञ्चालन गर्ने तयारी भइरहेको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। पत्रकार सम्मेलनमा महासंघ बाँकेका अध्यक्ष मधु खड्काले स्थानीय वाटरपार्कस्थित खुला मैदानमा महोत्सव सञ्चालन गर्न लागिएको जानकारी दिइन् । स्थानीय स्रोतको सदुपयोग गरेर उत्पादन गरिएका लघु, घरेलु तथा साना उद्योगद्वारा उत्पादित विभिन्न बस्तुको बजारीकरणका लागि प्रदेश स्तरको महोत्सव गर्न लागिएको उनले बताइन् ।
उक्त महोत्सवमा २ सय ५० देखि ३ सय वटासम्म विभिन्न प्रकारका स्टल राखिने जानकारी दिइन् । ‘कृषि, वनपैदावर, हस्तकला, ऊर्जा, बायोग्यास लगायतका सामग्री प्रदर्शनीमा राखिनेछ,’ उनले भनिन् ‘स्थानीय तथा राष्ट्रिय कलाकारले पनि हरेक दिन साँङ्गितिक मनोरञ्जन प्रदान गर्नेछन् ।’ पत्रकार सम्मेलनमा महासंघ बाँकेका महासचिव जि।आर। भुसालले महोत्सवमा १ लाख ५० हजारदेखि २ लाखसम्म दर्शकले अवलोकन गर्ने बताए । महोत्सवमा दुई करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको पनि उनले सुनाए ।
पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय सदस्य जीवनाथ सापकोटा, लुम्बिनी प्रदेशका महासचिव जयश्वेर पौडेल, महासंघ बाँकेका उपाध्यक्ष अमृत सिग्देल, महासंघको लुम्बिनी प्रदेश महिला उद्यमी समितिकी शर्मिला खत्री, महासंघ नेपालगन्ज उपमहानगर अध्यक्ष दिला शाह लगायत उपस्थित थिए ।