युवा क्लब व्यवस्थापन तथा क्षमता अभिबृद्धि सम्बन्धी दुई दिने तालिम सम्पन्न

|

नेपालगञ्ज । युवा क्लब व्यवस्थापन तथा क्षमता अभिबृद्धि सम्बन्धी दुई दिने तालिम नेपालगञ्जमा सम्पन्न भएको छ ।
तालिममार्फत सहभागिहरु युवाहरुले युवा क्लबलाई व्यवस्थित तथा सक्रिय बनाउनका लागि कार्ययोजना बनाएका छन् ।
नेपालगञ्जमा रहेका केही युवा क्लबका पदाधिकारीहरुको सहभागिता रहेको तालिम मंसिर २९ र ३० गते संचालन भएको थियो ।
तालिमको समापनमा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोरख बहादुर थापाले युवा क्लबलाई सहज तरिकाले संचालनका लागि स्वयं युवा साथीहरु सक्रिय हुनुपर्ने बताउनुभयो ।
उहाँले युवा क्लबमा बसेर मात्रै युवाहरुको क्षमता बिकास नहुने भएको हुँदा सक्रियताका साथ सामाजिक कार्यमा युवा क्लब लाग्नुपर्ने बताउनुभयो । युवा क्लब युवाहरुलाई अनुशासन, नीति नियम, सम्मान, असल व्यवहार, असल कार्य गर्न प्रेरित गर्ने थलो भएकाले यसमा रहने सदस्य सदैव क्रियाशिल हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नं १२ का वडाअध्यक्ष तरुण बज्राचार्यले युवा क्लबले धेरै कुरा सिकाउने र यसबाट हुने सिकाईले जीवनका हरेक समयमा धेरै सहयोगी हुने बताउनुभयो ।
‘युवा क्लब, समूह संगठनले तपाईमा क्षमताको बिकास गर्छ,’ वडाअध्यक्ष बज्राचार्यले भन्नुभयो, ‘त्यो क्षमता बिकास भनेको तपाईको सक्रियताले निर्धारण गर्छ ।’ क्लबले भविष्यमा राम्रो गर्दै जाने शुभकामना व्यक्त गर्नुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय सहकार्य, सेभ द चिल्ड्रेनको सहयोगमा सामाजिक बिकास मञ्च बाँकेद्वारा नेपालगञ्जमा संचालित पावर फोर एवाई परियोजना अन्तर्गत सो तालिम संचालन गरिएको हो ।
मञ्चका अध्यक्ष चम्प सिंह थापा मगरको अध्यक्षतामा समापन भएको तालिममा नेपालगञ्ज वडा नं २, ८, १२, २१ र २२ मा रहेका युवा क्लबका ६ जना पदाधिकारीहरु गरी ३० जनाको सहभागिता रहेको थियो ।
मञ्चका कार्यक्रम संयोजक राम श्रेष्ठ, अनुगमन तथा मुल्याँकन अधिकृत शान्त चौधरी र कार्यक्रम अधिकृत अधिकृत बृजेश ठाकुरले सहज व्यवस्थापन गर्नुका साथै संस्थाका बारेमा प्रकाश पार्नुभएको तालिमलाई साहिल अन्सारी र भिष्म लोधले सहजीकरण गर्नुभएको थियो ।
यसैगरी सहभागि सबै युवा क्लबलाई आवश्यक सामाग्री प्रदान गरिएको छ । युवा क्लब संचालन तथा खेलकुदका लागि आवश्यक पर्ने रजिष्टर, माइनट, रिंग फाईलसहितको शैक्षिक सामाग्री तथा क्रिकेट व्याट र बल प्रदान गरिएको छ ।

२०८० मंसिर ३०, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।