परिवर्तनका सम्वाहक किशोरकिशोरीहरुबाट वालविवाह मुक्त समाज निर्माणमा सहयोग पुग्ने अपेक्षा
बर्दिया । बाल विवाह न्यूनीकरण परियोजना अन्र्तगत परिवर्तनका सम्वाहकहरुलाई बर्दियाको ठाकुरबाबा नगरपालिकाको बगनाहमा आयोजित कार्यक्रममा सम्मान गरिएको छ । परिवर्तनका सम्वाहक ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ र ५ मा संचालित १० देखि १४ वर्ष उमेर समुहका किशोर किशोरीहरु र १५ देखि २० वर्ष उमेर समुहका किशोर किशोरीहरुलाई परिवर्तनका सम्वाहकका रुपमा सम्मान गरिएको छ ।
यस अभियानले बालविवाह न्यूनीकरणमा सहयोग पुग्नुका साथै किशोर किशोरीहरुमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि जानकारी गराई नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले सम्मान गरिएको हो ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले परिवर्तका सम्वाहकहरुलाई सम्मान गर्ने कार्यक्रम नगरपालिकाको भविष्यसंग जोडिएको बताउँदै आफुसंगै अरुलाई पनि बालविवाह न्युनिकरणमा जनचेजना जगाउन आग्रह गर्दै यस अभियानका लागि सहयोग गर्ने सम्पूर्ण प्रति धन्यवाद प्रकट गर्नुभयो ।
प्लान इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत विमल गैरेले परिवर्तनका सम्वाहकका रुपमा आबद्ध किशोर किशोरीहरुलाई सम्मान गरे पश्चात् उनीहरुबाट वाल विवाह मुक्त समाज निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।
ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालको प्रमुख आतिथ्यता तथा उपप्रमुख विना कुमारी भट्टराईको विशिष्ट आतिथ्यता भएको कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष अमिन थारुको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष श्रीकृष्ण थारु, वडा नम्बर ५ का वडा अध्यक्ष शम्भु प्रसाद थारु, प्रहरी चौकी बगनाहका इन्चार्ज चुडामणी अधिकारी, बी–ग्रुपका प्राबिधिक संयोजक रामरुप कौशल, लक्ष्मी प्रसाशद र्मा, फिल्ड सुपरभाइजर सृजना चौधरी, माया खडका र विमला रावतको उपस्थिती रहेको थियो ।