नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य तथा सरसफाईमा प्रत्यक्ष वा अप्रत्यक्ष सहभागी हुने ब्यक्तिको पेसागत स्वास्थ्य तथा सुरक्षा निर्देशिकाको पहिलो मस्यौदा बारेमा बिहीबार सुझाव सङ्कलन गरिएको छ । यो पेसागत स्वास्थ्य तथा सुरक्षा निर्देशिका नेपालकै पहिलो यस नेपालगन्ज उपमहानगरपालिकामा निर्माण भएको बी– ग्रुपका कार्यक्रम संयोजक ईन्द्रजित सुनारले जानकारी दिए ।
पेसागत स्वास्थ्य विज्ञ डा. सुनिल कुमार जोशीले तयार पार्नुभएको पेसागत स्वास्थ्य तथा सुरक्षा निर्देशिकाको मस्यौदाबारे सम्बन्धित सरोकारवालासँग सुझाव सङ्कलन गरिएको हो । निर्देशिकाको मस्यौदामाथि छलफल गरेर सुझाव सङ्कलन गर्ने उद्देश्यले भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) ले आयोजना गरेको कार्यक्रममा सहभागी अधिकांशले सो निर्देशिकालाई स्थानीय सरकारले नगर सभाबाट पारित गरेर लागु गर्नुपर्नेमा जोड सम्बन्धित सरोकारवाला निकायले दिएका छन् ।
नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट र उपमेयर कमरुद्दीन राईले निर्देशिकालाई थप अध्ययन गरेर उपमहानगरको बोर्ड बैठकमा थप छलफल गरी आवश्यक परेर संशोधन समेत गरेर लागु गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँहरूले सो मस्यौदाबारेमा सरोकारवालाको तर्फबाट आएका सुझावलाई समेत समेटेर पारित गराई लागूगर्ने बताउनुभयो । यसअघि निर्देशिकाका मस्यौदाकार पेसागत स्वास्थ्य विज्ञ डा. जोशीले निर्देशिकामा रहेका सबै बुँदाहरूबारेमा विस्तृत रूपमा सहभागीलाई जानकारी गराउनुभयो । सो अवसरमा एमडीएम फ्रान्सका कार्यक्रम प्रबन्धक वसन्त थापाले नेपालगन्ज उपमहानगरपालिकाको पेसागत स्वास्थ्य सुरक्षाको अवस्था र निर्देशिका निर्माण गर्नुको उद्धेश्य माथि प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसाल,डा.विनोद कर्ण विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नेपालगन्ज, खजुरा र डुडुवाका स्वास्थ्य कार्यालय लगायत विभिन्न कार्यालय र संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।