सार्वजनिक नीजि साझेदारी मन्च सन्चालन तथा ब्यवस्थापन निर्देशिका स्थानीय तहले पास गर्नु पर्नेमा जोड

|

नेपालगन्ज । सार्वजनिक नीजि साझेदारी मन्च सन्चालन तथा ब्यवस्थापन निर्देशिका मस्यौदा माथि आज ब्यापक छलफल गरिएको छ । सो निर्देशिका स्थानीय तहले पास गर्नु पर्नेमा सम्पुर्ण सरोकारवाला निकायले जोड दिएका थिए । भेरी वातावरणीय विशिष्ठता समूह (बी–ग्रुप)ले बाँकेमा सञ्चालन गरिरहेको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तरगत स्वास्थ्यजन्य फोहर व्यवस्थापनमा संलग्न सरसफाईकर्मीको हक अधिकार तथा पेशाप्रति आत्मसम्मानको लागि सो निर्देशिका फलदायी हुने सरोकारवाला निकायको विचार रहेको छ ।

सार्वजनिक नीजि साझेदारी मन्च सन्चालन तथा ब्यवस्थापन निर्देशिकालाई नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र खजुरा गाउँपालिकाले आत्मसात गर्ने र सो निर्देशिकलाई कार्यपालिकामा लगेर नगर तथा गाउँ सभाबाट पारित गरि अघि बढाउन पहल गर्ने बताईने बी–ग्रुपका कार्यक्रम संयोजक ईन्द्रजित सुनारले बताउनुभयो । सो निर्देशिका माथि सल्लाह तथा सुझाव विभिन्न सरोकारवाला निकायहरुले दिएका थिए । सल्लाह तथा सुझाव दिनेहरुमा डा. विनोद कर्ण, खजुरा गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष धनीराम ओली, सहकारी प्रमुख, कृषि शाखा प्रमुख र स्वास्थ्य शाखा प्रमुख लगायतले आ–आफनो विचार राखेका थिए ।

एकिकृत स्वास्थ्यजन्य फोहर व्यवस्थापन केन्द्र संचालनमा आएपछि, फोहर व्यवस्थापनमा सहजता आएपनि फोहर व्यवस्थापनमा संलग्न रहेका सरसफाईकर्मीलाई जोखिम वढिरहेको छ र सरसफाईकर्मीलाई आफनो पेशा प्रति आत्मसम्मानका साथ कार्य गर्न सहजता बनाउनको लागि यो निर्देशिका तयार गरिएको बी–ग्रुपका व्यवसाय विकास अधिकृत समद सिद्धिकीले बताउनु भयो ।

भेरी वातावरणीय विशिष्ठता समुहले, एम.डि.एम फ्रान्स, जि.आई.जेड तथा एएफडिको आर्थिक सहयोगमा पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना नेपालगन्ज उपमहानगरपालिका, खजुरा र डुडूवा गाउँपालिकामा संचालन गरिरहेको छ । सो छलफल संस्थाका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजीकरण प्रकास उपाध्यायले गरेका थिए ।

२०८० मंसिर १३, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।