भूकम्प प्रभावित पत्रकारका लागि मनोविमर्श तथा क्षमताअभिवृद्धि अभियान सुरु

|

जाजरकोट । जाजरकोट भूकम्पका कारण प्रभावित पत्रकारका लागि प्राथमिक मनोवैज्ञानिक सहयोग तथा क्षमता अभिृद्धि अभियान आजबाट सुरुवात गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ जाजरकोटको संयोजन, युनेस्को काठमाडौँ, सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)र मानसिक स्वास्थ्य तथा परामर्श सेवा केन्द्र (सीएमसी) नेपालको सहकार्यमा सुरु भएको कार्यक्रममा जाजरकोटका २२ जना क्रियाशील पत्रकारको सहभागिता रहेको थियो । जाजरकोटपछि रुकुम पश्चिममा पनि यो कार्यक्रम सञ्चालन हुनेछ ।
भूकम्प प्रभावित पत्रकारलाई सीएमसी नेपालका मनोविद गोपाल बोहराले भूकम्पपछि शारीरिक तथा मानसिक रूपमा देखिने परिवर्तन, यस्तो अवस्थाको सामनाका लागि अपनाउनुपर्ने सावधानीलगायतका बारेमा जानकारी गराउँदै अन्तरक्रिया गर्नुभयो । रिपोर्टिङ्सँगै उद्धारमा पनि आफूहरू खटिएको स्मरण गर्दै उनीहरूले अझैँ पनि कात्तिक १७ गतेको रातिको भूकम्पको दृश्य सम्झेर मानसिक रूपमा विक्षिप्त हुने गरेको उनीहरूले बताए ।

विपद्को समयमा फैलन सक्ने अफवाह, गलत सूचना, नियन्त्रण तथा विपद्पछिको समाचार संकलन रणनीतिको बारेमा सीआईएनका कार्यक्रम सम्पादक लिलप्रकाश चन्दले सहभागी पत्रकारसँग कार्यक्रममा छलफल गर्नुभयो ।

कार्यक्रममा अकोराबका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघका अध्यक्ष बालकुमार शर्माले भूकम्पका कारण घरबारविहीन भएका, समाचार सङ्कलन सामग्रीमा क्षति पुगेका पत्रकारमा कामप्रतिको मोह घट्दै गएको समयमा उनीहरूका लागि प्राथमिक मनोवैज्ञानिक सहयोग र क्षमता बढाउने कार्यक्रम चलाउनु सकारात्मक रहेको धारणा राख्नुभयो ।

२०८० मंसिर ८, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।