आइसिसी विश्वकप खेलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै भारत फाइनलमा प्रवेश

|

काठमाडौ । मोहम्मद शामीको घातक बलिङ र दुई शतकको सहयोगमा भारतले आइसिसी विश्वकप २०२३ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । भारतले २०११ पछी पहिलो पटक फाइनलमा स्थान बनाएको हो ।

जितको लागि ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८.५ ओभरमा ३ सय २७ रनमा अल आउट भयो । न्युजिल्यान्डका डर्याल मिचेलले १ सय १९ बलमा ९ चौका र ७ छक्कासहित सर्वाधिक १ सय ३४ रन वनाएपनी टोलीलाई जिताउन सकेनन् ।

भारतका मोहम्मद शामीले ९.५ ओभरमा ५७ रन खर्चेर ७ विकेट लिए । बुमराह , कुलदिप यादव र मोहम्मद शिराजले एक एक विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ९८ रन बनाएको थियो । भारतको जितमा युवा ब्याटर श्रेयस ऎरले ७० बलमा ४ चौका र ८ छक्कासहित १ सय ५ रनको विस्फोटक शतकीय इनिङ खेलेका थिए । विराट कोहलीले १ सय १३ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक १ सय १७ रनको शतकिय इनिङ खेलेका थिए । कोहलीको यो ओडिआइ करिअरको ५० औं शतक हो । उनी ओडिआइमा सर्वाधिक शतक हान्ने खेलाडी बनेका छन् । कोहलीले सचिन तेन्दुलकरको ४९ औं शतकको कीर्तिमान तोडेका हुन् ।

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले १० ओभरमा ८६ रन खर्चेर १ विकेट लिए । टिम साउथीले १० ओभरमा १ सय रन खर्चेर ३ विकेट लिए ।

दोस्रो सेमिफाइनल बिहिबार हुनेछ । दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र दछिण अफ्रिकाबिच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार हुनेछ ।

२०८० कार्तिक २९, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।