दिला शाहद्वारा लिखित कथासंग्रह अँध्यारो बस्तीकी नायिकालाई सनत रचना कथा सम्मान २०७९ प्रदान

|

नेपालगन्ज । कथाकार दिला शाहद्वारा लिखित कथासंग्रह अँध्यारो बस्तीकी नायिकालाई सनत रचना कथा सम्मान २०७९  प्रदान गरिएको छ । नेपालगन्जका कथाकार सनत रेग्मीले आफू र पत्नीको नाममा स्थापित उक्त सम्मान मध्यपश्चिम स्रष्टा समाजले २०७९ सालका लागि शाहद्वारा लिखित अँध्यारो बस्तीकी नायिकालाई प्रदान गरेको हो । स्रष्टा समाजले नेपालगन्जमा आयोजना गरेको सम्मान हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका सेवा आयोग सदस्य प्रा. डा. कृष्णप्रदाद घिमिरेले कथाकार शाहलाई हस्तान्तरण गर्नुभएको थियो । नगद १० हजार एक सय ११ रुपैयाँ राशिसहितको सम्मान हस्तान्तरण गर्दै घिमिरेले कथाकार शाहमा राम्रो कथाकार हुने क्षमता देखिएकोले निरन्तर साधनामा लाग्न आग्रह गर्नुभयो ।

सम्मानित पुस्तकमाथि आफ्नो समीक्षकीय धारणा राख्दै समीक्षक लेकप्रसाद प्याकुरेलले कथा संग्रहमा नारी पात्र प्रमुख रहेका र बाल मनोविज्ञानका कथा पनि पठनीय रहेका धारणा राखेका थिए । उनले पात्र र कथालाई थप माझ्न सकेमा शाहले उत्कृष्ट कथाकृति दिनसक्ने धारणा राखे । सम्मानित कथाकार शाहले पुस्तकलाई सम्मान गरिनुले साहित्य लेखनीमा आफूलाई हौसला थपिएको बताइन् ।

वरिष्ठ कथाकार रेग्मीले विद्याकुटीर फउण्डेसनमा रहेको कोषबाट हरेकवर्ष कथाकार वा कथाकृतिलाई उक्त सम्मान प्रदान गरिने बताए । उक्त सम्मान हरेक वर्ष रेग्मीको जन्मोत्सवका दिन प्रदान गर्न मध्यपश्चिम स्रष्टा समाजले संयोजक र व्यवस्थापकको भूमिका खेल्ने समाजका अध्यक्ष शुक्रऋषि चौलागाईंले जानकारी दिए । सम्मान प्रदान गर्ने कार्यक्रममा विद्याकुटीर फाउण्डेसनले नै प्रकाशित गरेको डा. एकनारायण पौडेल लिखित पुस्तक नेपाली कथामा आन्चलिकता’को विमोचन पनि गरिएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यद्वय महानन्द ढकाल र शशीराम कार्की, लुम्बिनी प्रदेश सभा सदस्य माया पुन, ओलम्पियन सुरेन्द्र हमाल र कथाकार सुमित्रा न्यौपानेले बोलेका थिए ।

२०८० आश्विन ६, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।