संस्थागत सुद्धिकरण र पारदर्शीको लागि बोस्टनमा एनआरएनएहरुद्वारा एकबद्धता जाहेर

|

अमेरिका/ अमेरिकामा रहेका गैर आवासीय नेपालीहरुले गैर आवासीय नेपाली संघ(एनआरएनए) मा ‘संस्थागत सुद्धिकरण र परिवर्तन’ अपरिहार्य रहेको जनाउदै त्यसका लागि एकबद्धता जाहेर गरेका छन्।
उक्त कार्यक्रममा, संस्थागत विकासका लागि ‘पारदर्शी, समावेशी र विश्वसनीय परिवर्तन’ अपरिहार्य छ’भन्ने मूल नाराका साथ डाक्टर अर्जुन बन्जाडेको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको समूह र समर्थकहरुको उल्लेखनीय उपस्थित रहेको थियो। एनआरएनए, मासाच्युसेट्स च्याप्टरले आयोजना गरेको उक्त कार्यक्रम, आइसिसि अमेरिकाज क्षेत्रकी महिला संयोजक तृष्णा शर्मा काफ्लेको प्रमुख आतिथ्यता र च्याप्टर अध्यक्ष प्रेम तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो।

चुनावी कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि काफ्लेले संस्थामा विकृति र विसङ्गति धेरै भएकाले त्यसलाई सच्याउन परिवर्तनकामीहरु एक हुनु पर्नेमा जोड दिएकी थिइन्। उनले संस्थागत सुद्धिकरण र सकारात्मक परिवर्तनको अभियानमा लागेकाहरुसंग एकबद्धता जनाउदै यस्तो प्रतिक्रिया दिएकी हुन्। एनआरएनए, एनसिसिदेखि आइसिसिसम्मको विकृत अवस्था हुनुमा धेरथोर सबै जना दोषी रहेको उनको ठहर थियो।
अघिपछि परिवर्तनका कुरा गरे पनि भोट हाल्ने बेलामा बिचार नपुर्याइ भोट दिएको र पछि पछुताउनु परेको तर्क गर्दै उनले भोट हाल्दा नै बिचार पुर्याउनु पर्ने जिकीर गरिन्। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि काफ्लेले संस्थामा राजनिति हावी भएकोप्रति निकै दु:ख व्यक्त गर्दै त्यसको कडा विरोध गरिन्।

एनसिसि, अमेरिकाका पूर्व वरिष्ठ उपाध्यक्ष तथा एनसिसि, अमेरिकाको आशन्न निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी डाक्टर अर्जुन बन्जाडेले आफू र आफ्नो टिम संस्थामा सुद्धिकरण र सकारात्मक परिवर्तन ल्याउनका लागि अभियानकै रुपमा लागेको बताए। संस्थालाई सही दिशानिर्देश गर्नका लागि आवश्यक सकारात्मक परिवर्तन ल्याउन ‘समावेशीता, पारदर्शिता र विश्वसनीयता’ अपरिहार्य रहेको उनको ठम्याइ रहेको थियो। विगतमा संस्थाको वरिष्ठ उपाध्यक्ष पदमा रहेर आफूले गरेका राम्रा कामहरुको परिणामका आधारहरुले दिलाएको आँट र साथीहरुको उत्प्रेरक अनुरोधका कारण आफूले यस पटक पनि अध्यक्ष पदमा उमेदवारी दिएको डाक्टर बन्जाडेको प्रष्टिकरण थियो।

सम्बोधनका क्रममा उनले ‘यो सबैको संस्था हो’ भन्ने वातावरण तयार गरेमा मात्र संस्थामा सदस्यता बढ्ने अवस्था आउने र तब मात्र वास्तविक अर्थमा समाजको प्रतिनिधित्व हुने तर्क गरेका थिए। उनले भने, ‘समाजको प्रतिनिधित्व गर्न त समाजका व्यक्तिहरुले ‘यो मेरो संस्था हो। निर्वाचित भएका व्यक्तिहरु हामीले निर्वाचित गरेका हुन्’ भन्ने किसिमको भावना जबसम्म यहाँको सदस्यमा हुदैन, तबसम्म रियल अर्थमा प्रतिनिधित्व गरेको ठहर्दैन। त्यसैले विश्वसनीय संस्था बनाउन जरुरी छ।’

कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर बन्जाडेले संस्थामा सुद्धिकरण र परिवर्तन ल्याउने अभियानमा एकजुट भएर चुनावी मैदानमा होमिएको आफूसहित आफ्ना सम्पूर्ण टिमलाई आफ्नो अमूल्य मत दिएर विजयी गराइदिन मतदाताहरुलाई अनुरोध समेत गरेका थिए।

कार्यक्रममा एनसिसि, अमेरिकाको वर्तमान कार्यसमितिका उपाध्यक्ष तथा आशन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी बिकाश उप्रेतीले वर्तमान कार्यसमितिका अध्यक्ष र महासचिवको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै आफूले चाहेर पनि राम्रो काम गर्न नसकेको दुखेसो पोखे। संस्था राम्रो हुन नेतृत्व सक्षम हुनु पर्ने रहेछ भन्ने आफ्नो दुइ वर्षे कार्यकालको अनुभव सुनाउदै उनले यसपटक मासाच्युसेट्सका सम्पूर्ण मतदाताहरुले डाक्टर अर्जुन बन्जाडेसहितको टिमलाई मत दिएर सक्षम नेतृत्वसहितको टिम चयन गर्नेमा आशा व्यक्त गरे।
दुइ वर्षे कार्यकालमा नेतृत्वले संस्थालाई केही सिमित व्यक्तिहरुमा मात्र सिमित राखेको र संस्था टुक्र्याउनेदेखि लिएर सदस्यहरुका बिच वितृष्णा फैलाउने काम गरेको आरोप लगाए। संस्थालाई पुन: लयमा ल्याएर सबै नेपालीहरुले अपनत्व महसुस गर्ने संस्था बनाउन आफूलगायत साथीहरु परिवर्तनको पक्षमा उभिएको र डाक्टर बन्जाडेलाई त्यसको नेतृत्व लिन आग्रह गरेको उप्रेतीले खुलासा गरे। उनले मन्तब्यका क्रममा, परिवर्तनको अभियानमा साथ दिदै डाक्टर बन्जाडेको समूहलाई विजयी गराउन सम्पूर्ण मतदाताहरुलाई अनुरोध समेत गरे।

कार्यक्रमका दौरानमा आशन्न निर्वाचनमा एनआरएनए, एनसिसि, अमेरिकाको अध्यक्ष पदका अर्का प्रत्याशी सुमन थापाले पनि आफू संस्थागत हितार्थ आवश्यक संस्थागत सुद्धता र परिवर्तनको पक्षमा उभिएको प्रतिक्रया दिए। डाक्टर बन्जाडेले उठाएका मुद्दाहरु आफ्नो पनि भएकाले संस्था बनाउन मुद्दा मिलेकाहरु एकबद्ध भएर अघि बढ्नु पर्नेमा थापाले जोड दिए। कुराकानीका क्रममा उनले भने, ‘ मैले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर संस्थागत स्वार्थका लागि आफ्नो उमेदवारी फिर्ता लिने र डाक्टर अर्जुन बन्जाडेलाई समर्थन गर्ने निर्णय गरेको हुँ। हालको अवस्थामा तुलनात्मक रुपमा संस्थालाई सही नेतृत्व दिने व्यक्ति उहाँ नै हो।’
आफ्नो उमेदवारी फिर्ता लिएर डा.बन्जाडेलाई समर्थन र सहयोग गर्ने भन्ने विषयमा उब्जिरहेको आशंकाको प्रसंगमा थापाले आफू भिमसेन थापाको सन्तति र सिपाही पृष्ठभूमिको भएकाले कुनै लप्पनछप्न राजनिति नजान्ने, नगर्ने, सिधासिधै कुरा गर्ने र बोलेको कुरा पुरा गरेर छाड्ने स्वभावको भएको प्रष्ट पारे।
निर्वाचन कार्यतालिका अनुसार उमेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशित गर्ने मिति क्रमश: जुलाई ९ र ११ रहेको छ।

उपाध्यक्ष पदका उमेदवारहरु ज्ञानेन्द्र गुरुङ, नेत्र पाण्डे, क्रान्ति अर्याल भण्डारी, किशोर रेग्मी, सचिव पदका उमेदवार दिपक सापकोटा, सह-कोषाध्यक्ष पदका उमेदवार दिवाकर पाण्डे, बोर्ड अफ डाइरेक्टर पदका उमेदवार निमा शेर्पा र प्रेम पौडेल, आइसिसि सदस्य पदका उमेदवारहरु छत्र कुमारी गुरुङ, पदम ठकुराठी, सावित्री सापकोटा र युवा संयोजकका लागि उमेदवार तेज पौडेललगायतले डा.बन्जाडेले उठाएका मुद्धाहरुमा एकबद्धता जनाउदै आफू र बन्जाडे नेतृत्वको समूहलाई विजयी गराइदिन अनुरोध गरेका थिए। यसै अवसरमा, बिजय शर्मा, भिम प्रकाश ओली, कमल ढुंगाना, डि बि रावत लगायतले शुभकामना मनतव्य व्यक्त गर्दै संस्थागत सुद्धिकरण तथा परिवर्तन अभियान र चुनावी अभियानको सफलताको कामना गरेका थिए।
मासाच्युसेट च्याप्टरका वर्तमान सचिव प्रचण्ड श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष राजु गुरुङले स्वागत मनतव्य व्यक्त गरेका थिए। भने अध्यक्ष तथा आशन्न निर्वाचनमा एनसिसि, अमेरिकाको उपाध्यक्ष पदका प्रत्याशी प्रेम तामाङले सबैलाई धन्यवाद ज्ञापन गर्दै निरन्तर साथ र सहयोगको अपेक्षासहित कार्यक्रमको समापन गरेका थिए। सोही दिन डा.बन्जाडे समूहले न्यू हेम्पसारमा पनि चुनावी कार्यक्रम सम्पन्न गरेको थियो।

२०८० असार २४, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।