
दैलेख । दैलेखको अति विकट क्षेत्रमा रहेको एक विद्यालयमा कक्षा कोठा जिर्ण हुदा जोखिम मोलेर विद्यार्थीहरु पढ्न बाध्य भएका छन् । दैलेखको नौमुले गाउँपालिका ६ सल्लेरीमा रहेको श्री शिवशक्ती माध्यमिक विद्यालयको भवन लामो समयदेखि जिर्ण अवस्थामा रहेको हुनाले विद्यार्थीहरु जोखिम मोलेर पढ्न बाध्य भएका हुन् । विद्यालयको ५ वटा कक्षाकोठा जिर्ण अवस्थामा छ यसैमा हामी पढ्न र पढाउन बाध्य भएका छौं शिक्षकहरु बताउनुहुन्छ । पानी पर्दा विद्यार्थीहरुलाई एकदमै समस्या हुन्छ एक शिक्षकले भन्नुभयो । भवन पुरानो त्यसमा पनि पुरै चर्केको हुनाले पानी पर्दा कक्षाकोठामै चुहिने गर्छ कक्षा ९ मा अध्यनरत छात्रा सम्झाना शाहीले भन्नुभयो । पानी पर्दा बेन्च सारेर, छाता ओढेर वा अन्य अरु विद्यार्थी भएका राम्रा कक्षाकोठामा मिलेर पढ्ने गरेको छात्रा शाहीले बताउनुभयो ।
बर्खायाममा त कति जोखिमका साथ डराई डराई पढ्नुपर्ने बाध्यता छ । पानी पर्ने वित्तिकै कक्षाकोठामै छाता तथा बेन्च सार्दै पढ्नुपर्ने हुन्छ उहाँले भन्नुभयो । कक्षाकोठा पुरै चर्केको छ जोखिम भएपनि पढ्नुपर्ने बाध्यता छ कक्षा १० मा अध्ययनरत छात्र विजय रावतले भन्नुभयो । कहिले के हुन्छ भन्न सकिन्न पुरै कोठा चर्केको हावा पनि राम्रोसंग पास हुदैन पुरानो भएको हुनाले जाडोयाममा समेत सितको थोपा थोपा कक्षाकोठा भित्र चुहिने गरेको छात्र रावतले दुखेसो पोख्नुभयो । भवनको अवस्था एकदम नाजुक छ यसैमा सयौ विद्यार्थीहरु पढ्न बाध्य छौं उहाँले भन्नुभयो । हावाहुरी आउदा र पानी पर्दा डर लाग्छ छत हेर्दै बसेका हुन्छौं छात्र रावतले भन्नुभयो ।
भवनको अवस्था हेर्दा विद्यालय जान समेत मन लाग्दैन तर के गर्ने बाध्यता छ विद्यालय जान उहाँले भन्नुभयो । विद्यालयमा अन्य राम्रो भवनमा अरु कक्षाका विद्यार्थीहरु पढ्छन् । कक्षा ६, ७, ८, ९ र १० का विद्यार्थीहरुलाई जिर्ण भवनमा पढाईने गरिएको छ उहाँले भन्नुभयो । जिर्ण भवनलाई भत्काएर नयाँ भवन नबनाउदासम्म एकदम जोखिम छ जतिबेला जे पनि हुनसक्छ उहाँले भन्नुभयो । विद्यालयको एक भवनमा रहेको ५ वटा कक्षाकोठा जिर्ण छन् यसबारे स्थानिय तहमा पहल गरेका छौं शिक्षक नगेन्द्र शाहीले भन्नुभयो । विद्यालयले आफै बनाउन सक्ने आयश्रोत छैन् । जिर्ण भवनमा रहेका बेन्च, दराज, सोलार लगायतका सामानमा पानीले गर्दा क्षति भएको छ शिक्षक नगेन्द्रले भन्नुभयो ।
विद्यालयको भौतिक संरचना राम्रो नभएको कारण बढि पानी परेको दिन विद्यालय नै बन्द गर्नुपर्ने अवस्था हुन्छ शिक्षक शाहीले भन्नुभयो । माध्यमिक तहमा एउटा पनि दरवन्दी नहुदा पठनपाठन गराउन समस्या हुने गरेको श्री शिवशक्ति मावि प्राचार्य मान बहादुर रावतले भन्नुभयो । विद्यालयको भौतिक संरचना एकदम जिर्ण छ जिर्णका बावजुत पनि शिक्षकहरुले पठनपाठनमा कुनै कन्जुस्याई नगरेको प्राचार्य रावतले बताउनुभयो । शिक्षकको समस्या धेरै छन् तर दरबन्दी नभएको कारण पठनपाठनमा समस्या आउने गरेको उहाँले बताउनुभयो ।
जिर्ण भवनका लागि स्थानिय तहमा बारम्बार पहल गरेका छौं । स्थानिय तहले प्रदेशमा पहल गरेर बजेट निकासा गराउने जानकारी गराएको प्राचार्य रावतले भन्नुभयो । विद्यार्थीहरुको शैक्षिक स्तर उकास्न शिक्षकहरुले लागि परेका छन् । शिवशक्ति माविमा ३ सय ६७ विद्यार्थी अध्ययनरत छन् । नौमुले गाउँपालिकाको आम्दानीको आयश्रोत न्युन रहेको हुनाले संघिय सरकारबाट आएको अनुदानबाट खर्च गर्न बाध्य भएको नौमुले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेशम बहादुर बुढाले बताउनुभयो ।
संघिय अनुदानबाट नै शैक्षिक, स्वास्थ्य क्षेत्र तथा अन्य क्षेत्रमा खर्च गर्न बाध्य भएका प्रमुख प्रशासकिय अधिकृत बुढाले बताउनुभयो । सरकारले गुणस्तरिय शिक्षाका कुरा गर्छ तर शिक्षक दरबन्दी अनुसार पुगाउन सक्दैन उहाँले भन्नुभयो । पालिकामा सबै अस्थाई दरबन्दी शिक्षक छन् स्थाई राख्न स्थानिय तहको पहुँच पुग्दैन उहाँले भन्नुभयो । पालिकाले जति सक्दो शिक्षा क्षेत्रमा गुणस्तर ल्याउन लागि परेको छ उहाँले भन्नुभयो । नौमुले गाउँपालिका दैलेख जिल्लाको भौगोलिक हिसावले एकदमै विकट क्षेत्र हो यसमा प्रदेश र संघिय सरकारले पनि हेर्नुपर्छ उहाँले भन्नुभयो ।