नमुना युवा संसदको प्रधानमन्त्रीमा दोलखाका सामाजिक कार्यमा क्रियाशील युवा राजन बस्नेत निर्वाचित

|

दोलखा : दोलखाको भीमेश्वर नगरपालिकाले आयोजना गरेको नमुना युवा संसदको प्रधानमन्त्रीमा दोलखाका सामाजिक कार्यमा क्रियाशील युवा राजन बस्नेत निर्वाचित भएका छन् ।

बस्नेत विगत एक दशक देखी बालबालिका तथा युवाको क्षेत्रमा क्रियाशिल छन् र युवा पुस्तालाई व्यवस्थापिका संसदको प्रक्रिया र नीतिगत व्यवस्थाबारे जानकारी गराउने उद्देश्यले भीमेश्वर नगरपालिकाका युवाहरूलाई संलग्न गराएर नमुना युवा संसद सञ्चालन गरिएको हो ।

नमुना युवा संसदको सभामुख पदमा भी.न.पा ९ का युवा भीमबहादुर खत्री, गृहमन्त्रीमा भी.न.पा ४ का दिनेश चौलागाईं, शिक्षा तथा खेलकुद मन्त्रीमा भी.न.पा १ का विकल्प थामी, स्वास्थ्य मन्त्रीमा भी.न.पा ४ कि सबिना चौलागाईं, प्रमुख प्रतिपक्ष दलका नेतामा भी.न.पा ७ का महेश भुजेल, प्रमुख सचेतकमा भी.न.पा ९ कि रन्जिता भुजेल लगायत निर्वाचित भएको भीमेश्वर नगरपालिका शिक्षा शाखाका अधिकृत अर्जुन कार्कीले जानकारी दिए ।

नेपालको संविधान २०७२ को कार्यविधिअनुसार नमुना संसदको कारवाही अघि बढेको हो । सरकार, सांसद र प्रतिपक्षीको अभ्यास गरिएको संसदमा सरकारको नीति तथा कार्यक्रममाथि विपक्षी दलका सांसदहरुले प्रश्न उठाएका थिए भने सत्तापक्षका प्रधानमन्त्री तथा मन्त्रीहरुले जवाफ दिएका थिए । सदनमा सबैको प्रतिनिधित्व हुने गरी समावेशी मन्त्रीपरिषद् गठन गरिएको थियो ।

उनीहरूले युवा संसद र सरकारको अभ्यास गर्दै कोरोना भाइरस संक्रमण रोक्न सरकारले गरेको गतिविधि, कोरोनाका कारण रोकिएको शैक्षिक गतिविधिलाई अघि बढाउन सरकारको नीति, नेपालको भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता गर्न सरकारको रणनीति लगायतका विषयमा छलफल गरेको थियो ।

राष्ट्रिय युवा परिषद्ले स्थानीय तहमा युवाको सशक्तिकरण तथा सामाजिक, राजनीतिक, शैक्षिक मूल प्रवाहिकरणमा सहभागिता खोज्न यस प्रकारको नमुना कार्यक्रम सञ्चालनमा ल्याएको हो । भविष्यमा नेतृत्व तहमा सक्षम जनशक्ति पु¥याउने लक्ष्यका साथ सञ्चालित कार्यक्रममा १६ देखि २४ वर्षका युवा सहभागी छन् ।

युवा प्रधानमन्त्री बस्नेतले युवाहरुको हक, अधिकार र संरक्षणमा सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै सुखी नेपाली समृद्धि नेपाल निर्माण गर्नका लागि युवाहरु एक जुट भएर अगाडि बढ्नुको विकल्प नरहेको जिकिर गरे ।

कार्यक्रममा बोल्दै भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले नमुना युवा संसदको अभ्यासबाट युवाको क्षमतामा वृद्धि विकास हुनुका साथै युवाहरुमा रहेको अन्तरनीहित प्रतिभा प्रस्फुटन गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा भीमेश्वर नगरपालिकाको उपमेयर कमला बस्नेत वडा अध्यक्षहरु लगायतको उपस्तिथि रहेको थियो ।

२०७७ असार ९, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।