फोहोर व्यवस्थापनका लागि सम्पुर्ण सरोकारवाला एकजुट हुनु पर्नेमा जोड

|

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको फोहोर व्यवस्थापनका लागि सम्पुर्ण सरोकारवाला निकाय एकजुट हुनु पर्नेमा जोड दिएका थिए । नागरिकहरुले फोहोरको कम प्रयोग, पुनः प्रयोग र प्रशोधित प्रयोगमा विशेष जोड दिनु पर्ने बताएका छन् । नेपालगन्जउपमहानगरका सरोकारवाा निकाय तथा फोहोर व्यवस्थापन सम्बन्धी विज्ञहरूले फोहोरमैला व्यवस्थापनमा परम्परागत शैली परिवर्तन गरेर प्रविधिको उपयोग गर्दै समयसापेक्ष फोहोर व्यवस्थापन रणनीति बनाउनुपर्नेमा जोड दिएका छन् ।

‘दिगो भविष्यका लागि फोहोरको उचित व्यवस्थापन’ विषयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेपालगञ्जका उपमहानगर प्रमुख प्रशान्त विष्टले यहाँको फोहोर व्यवस्थापन निकै चुनौतीपूर्ण भएपनि उपमहानगरले नगरलाई सफा र स्वच्छ राख्न हरसंभव प्रयास गरिरहेको बताउनुभयो । उहाँले फोहोर व्यवस्थापनमा उपमहानगरपालिका गम्भीरतापूर्वक लागेको जनाउँदै नागरिक तहमा पनि व्यवहार परिवर्तन जरुरी रहेकोले फोहोर व्यवस्थापनमा नगरवासीको जागरण र प्रतिबद्धता आवश्यक देखिएको बताउनुभयो ।

सो कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका वैज्ञानिक डा. रबिन्द्रप्रसाद ढकालले ‘फोहोर व्यवस्थापन नीति तथा सुशासन’, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. राजेशकेशर खनालले ‘फोहोर व्यवस्थापनमा समुदाय र शैक्षिक संस्थाहरूको संलग्नता’ र आरभिएम प्लास्टिक सोलुसन नेपालका संस्थापक जोसेफ श्रेष्ठले ‘फोहोर व्यवस्थापनमा आविष्कार र प्रविधि’ का बारेमा प्रस्तुतीकरण गर्नुभएको हो ।
नागरिकको तर्फबाट डा.बिनोद कर्ण, साहिल अन्सारी, तेजविक्रम शाह लगायतले आ–आफना विचार राखेका थिए । सोही प्रकारले नेपालगन्ज उपमहानगरपालिका वातावरण तथा विपत् शाखा प्रमुख प्रकाश डिसीले ‘उपमहानगरपालिकामा फोहोरमैला व्यवस्थापनको वर्तमान अवस्था र भावी योजना’ र त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र विभागका उपप्राध्यापक डा. ज्योति गिरीले ‘फोहोरको कम प्रयोग, पुनः प्रयोग र प्रशोधित प्रयोग’ विषयमा प्रस्तुतीकरण गर्नुभएको हो ।

कार्यक्रममा सहभागी अधिकांशले फोहोरको ‘कम प्रयोग, पुनः प्रयोग र प्रशोधित प्रयोग’ रणनीतिलाई प्रवर्द्धन गर्नु पर्नेमा सहमति जनाउनुभयो ।

कार्यक्रममा एमडिएम फ्रान्सका कार्यक्रम प्रबन्धक वसन्त थापाले फोहोर व्यवस्थापनका क्षेत्रमा गरिरहेका कामबारे जानकारी गराउनुभयो भने बीग्रुपका अध्यक्ष टेक बहादुर पुन, कार्यकारी निर्देशक डम्मर सुनार, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, वातावरण तथा विपत् समिति संयोजक समीर प्रताप सिंह, प्रवक्ता प्रमोद रिजाल लगायतले फोहोर व्यवस्थापनमा काम गर्ने सफाईकर्मीको सुरक्षामा पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो । सो कार्यक्रमको सहजीकरण पत्रकार ओविराज आर्चायले सन्चालन गर्नुभएको कार्यक्रम संयोजक ईन्द्रजित सुनारले बताउनुभयो ।

२०८० असार ११, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।