
नेपालगञ्ज । अनियमित बिद्युत सेवाबिरुद्ध नागरिकहरुले आज नेपाल बिद्युत प्राधिकरणको नेपालगञ्ज बितरण केन्द्र घेराउ गरेका छन् । बास नेपालको नेतृत्वमा बिद्युत कार्यालय घेराउ गरिएको हो ।
नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रमा बिहान ११.०० बजे स्थानीयहरु बिरोधका लागि उपस्थित भएका थिए । जेष्ठ ११ गते बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रका प्रमुखलाई अल्टिमेटमसहित ज्ञापन पत्र बुझाउँदा समेत बिद्युत सेवा अनियमित भएपछि आज स्थानीयहरु कार्यालय घेराउन गर्न बाध्य भएका हुन् ।
४० डिग्री तापक्रममा गुज्रिरहेको नेपालगञ्जमा बिद्युत अनियमित हुँदा स्थानीयहरु मर्कामा छन् । घेराउ गर्न पुगेका स्थानीयहरुले बिद्युत अनियमितता बिरुद्ध चर्काे रुपमा नारावाजी गरेका थिए ।
आक्रोशित स्थानीयहरुले चर्काे गर्मीमा सडकमैं सुतेर बिरोध जनाए, सुतेरै नारावाजी गरे । सुतेरै नागरिकहरुले नारा लगाए–बिद्युत अयिमितता बन्द गर, गफ होईन, बिद्युत देउ, बिद्युत मनपरी बन्द गर, लोडसेडिङ तालिका देउ ।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा बोल्दै युवा अभियन्ता साहिल अन्सारीले नेपाल बिद्युत प्राधिकरणले गर्मीयाममा बिद्युत सेवा अनियमित गरि अपराध गरेको बताउनुभयो । उहाँले आक्रोशित हुँदै भन्नुभयो–नेपाल बिद्युत प्राधिकरण होईन, नेपाल अपराधिकरण हो ।
बिरोध प्रदर्शनमा बोल्दै अर्का युवा अभियन्ता प्रकाश कुवँरले गैर जिम्मेवार बिद्युत बिरुद्ध नागरिकहरु एक हुनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै राजनीतिककर्मी बिनोद अग्रहरीले बिद्युत अनियमितताका कारण व्यक्तिगत सम्पत्तिमा क्षति पुगिरहेको उल्लेख गर्दै सोको क्षतिपूर्ति बिद्युतले दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशीले तत्काल बिद्युत नियमित नभए चर्काे आन्दोलन गर्ने बताउनुभयो । यस्तै नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठले बिद्युत प्राधिकरणको चरम लापरवाहीले आम नागरिकहरुले सास्ति भोगेको भन्दै सो को चर्काे बिरोध गर्नुभयो ।
कार्यक्रममार्फत नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेललाई तीन दिने अल्टिमेटमसहित ज्ञापन पत्र बुझाईएको छ । ज्ञापन पत्र नागरिक समाजकातर्फबाट नागरिक समाजका अगुवा श्रेष्ठले हस्तान्तरण गर्नुभएको थियो ।
ज्ञापनपत्र ग्रहण गर्दै नेपाल बितरण केन्द्रका प्रमुख प्याकुरेलले समस्या समाधानका लागि बिद्युत लागिरहेको बताउनुभयो । ज्ञापन पत्रमा नेपालकै बढी गर्मी हुने शहरमध्येको नेपालगञ्जका स्थानीयबासीहरु बिद्युत अनियमित हुँदा सास्ति भोग्न बाध्य भएको उल्लेख छ ।