
जनचेतना फैलाउनु पर्नेमा सरोकारवाला निकायको जोड
नेपालगन्ज । बाँकेमा बिषादीयुक्त तरकारी खान बाध्य भएको एक कार्यक्रमको सहभागीहरुले बताएका छन् । स्थानीय सार्वजनिक निजि साझेदारी प्लेटफर्मको बैठकमा सो कुरा बताएका हुन् । स्थानीय नागरिकहरुमा जनचेतनको कमीको कारण बिषादीयुक्त खान बाध्य भएको बताएका छन् । अव मिडियाले जनचेतना बढाउनु पर्नेमा सहभागीहरुले जोडदिएका थिए ।
भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप)ले जिआइजेड एवम् एमडिएम फ्रान्सको सहयोगमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ को आयोजनामा सो बैठक सम्पन्न भएको हो ।
बि–ग्रुपका उपाध्यक्ष मिरा खनालको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा सहभागि विभिन्न सरोकारवालाविच विषादी नहालिएको तरकारी तथा अन्य कृषि उत्पादनमा जोड दिनुका साथै ती उत्पादनको बजारीकरण लगायतका विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो ।
बैठकमा सहभागि अधिकांश कृषिसंग सरोकार राख्नेहरुले परीक्षणको अभावमा अधिकांश नेपालगञ्जवासी विषादी भएको तरकारी खान बाध्य भएको ठहर गर्दै विषादी नभएका अर्गानिक तरकारी खेतीमा जोड दिंदै अर्गानिक तरकारीका लागि बजारको समस्या नहुने बताएका थिए ।
नार्कका कृषि बैज्ञानिक डा. नवराज आचार्यले विषादी भएका तरकारी र फलफूल स्वास्थ्यका लागि निकै हानिकारक हुने जनाउँदै विषादी नभएका तरकारी र अन्य कृषि उत्पादन गर्न किसानलाई चेतना दिनुपर्ने बताउनुभयो । उहाँले त्यस्तो उत्पादनको बजारीकरणको व्यवस्था पनि सम्बन्धित निकायले गर्नु पर्ने बताउनुभयो ।
खजुरा वडा नम्बर २ का वडा अध्यक्ष धनिराम ओलीले विषादी नभएको तरकारी विक्रि तथा संकलनका लागि नेपालगञ्जको धम्बोझी, खजुरा र डुडुवामा समेत एक स्थान निश्चित गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले उपभोक्ताले अर्गानिक तरकारी खान चाहेको जनाउँदै विक्रि केन्द्र खोलिएमा विक्रिका लागि समस्या नहुने बताउनुभयो । यो अभियानलाई सन्चारकर्मीले मुख्य भुमिका खेनु पर्ने बताउनुभयो ।
सो बैठकमा नेपालगञ्ज वडा नम्बर २० का वडा अध्यक्ष कौशल कुमार धोबी, डुडुवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मोहनराम मिश्र र कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख शकिल अहमद खानले विषादी परीक्षण र विषादी नभएको तरकारी तथा अन्य कृषि उत्पादनमा विशेष ध्यान दिइएको बताउनुभयो ।
सो बैठकमा नेपालगञ्ज उपमहानगर कृषि शाखाका अम्बिका रिजाल, डुडुवा गाउँपालिका कृषि शाखाका प्रमुख सुशिल कुमार शर्मा, नेपालगञ्ज उपमहानगर कार्यपालिका सदस्य मुजम्मिल हुसैन हलवाई, विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र वडा सदस्यहरु लगायत किसान प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।
परियोजना संयोजक इन्द्रजीत सुनारले बैठकको सहजीकरण गर्नु हुँदै शुरुमा विषय प्रवेश गराउँदै बैठकको उदेश्य र एजेण्डा बारे सहभागिलाई जानकारी गराउनु भएको थियो ।
बिगु्रपद्धारा सञ्चालन गरिएको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाले सरसफाईकर्मी, कबाड व्यवसायी र संकलक तथा कृषकहरुको क्षमता विकास तथा सचेतना अभिबृद्धि गर्नुका साथै फोहर व्यवस्थापन तथा विषादी प्रयोग गर्दा हुने हानीबाट उनिहरुको पेशागत तथा स्वास्थ्य सुरक्षा लगायत सर्वसाधारणको सुरक्षालाई पनि प्रमुख उद्देश्य बनाएर काम गरिरहेको छ ।