
बाँके / डुडुवा गाउँपालिका वार्ड नं ६ , आसमानपुर बाँकेमा रहेको जयन्दु बाल सुधार गृहमा नि:शुल्क छाला जाँच शिविर सञ्चालन भएको छ ।बागेश्वरी टेलिभिजनको आयोजना र स्वास्थ्य पेजको सहकार्य तथा डुडुवा गाउँपालिकाको समन्वयमा उक्त सिविर सञ्चालन गरिएको हो । केही समयदेखि उक्त सुधार गृहमा रहेकाहरुलाई छालासम्बन्धी समस्याले सताएको जानकारी पाएपछि शिविरको आयोजना गरिएको बागेश्वरी टेलिभिजनका अध्यक्ष लक्ष्मी नारायण शाहले बताएका छन् । भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट छाला , कुष्ठ , यौनरोग तथा सौन्दर्य विशेषज्ञ डा. बद्री चापागाईंले सुधार गृहमा रहेका ७३ बालकहरूको जाँच तथा उपचार गरेका थिए । साथै उक्त शिविरमा निशुल्क औषधी वितरण गरिएको थियो । धेरैजसोलाई लुतो , दाद र वयस्क सम्बन्धी छालाको समस्या पाईएको डा. चापागाईंले बताए ।
बाल सुधार गृहमा १० वर्षदेखि १८ वर्षसम्मका १०१ बालकहरू छन् । उक्त शिविरमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ , बाँके प्रहरी प्रमुख ओम बहादुर राना , बागेश्वरी टेलिभिजनका अध्यक्ष लक्ष्मी नारायण शाह , डुडुवा गाउँपालिका वडा नं ६ का अध्यक्ष मोहन मिश्र , नेपालगन्ज वडा नं १३ का अध्यक्ष विरेन्द्र बहादुर शाह , अधिवक्ता वसन्त गौतम लगायतको उपस्थिति थियो ।