बर्दियाको मधुवनमा बाघको आक्रमणबाट २ जनाको मृत्यु

|
बर्दिया/ बर्दियाकाे मधुवन नगरपालिकामा पाटेबाघको आक्रमणबाट आज साेमवार दिउँसो दुई जना महिलाको ज्यान गएपछि पाटेबाघको आक्रमणबाट बर्दिया , बाँके र कैलालीमा झन्डै चार वर्षको अवधिमा अहिलेसम्म ३५ जनाकाे ज्यान गएकाे राष्ट्रिय प्रकृति संरक्षण काेष बर्दियाका प्रमुख डा. रबिन कडरियाले जानकारी दिएका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वन , बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनका साथै बर्दिया , बाँके र कैलालीका राष्ट्रिय वन तथा सामुदायिक वनमा पाटेबाघकाे आक्रमणबाट ३५ जनाको ज्यान गएकाे हो ।
निकुञ्ज र राष्ट्रिय वनमा गरी सबैभन्दा धेरै बर्दियामा २७ जनाले बाघको आक्रमणबाट ज्यान गुमाएका छन् । बाँकेमा निकुञ्ज र राष्ट्रिय वनमा सात जना , कैलालीमा सामुदायिक वनमा एक जनाले ज्यान गुमाएका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण काेष बर्दियाका प्रमुख कडरियाका अनुसार पाटेबाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा १५ जना , बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा तीन जनाकाे ज्यान गएको छ ।
यस्तै बर्दियाकाे राष्ट्रिय वन र सामुदायिक वनमा १२ जना , बाँकेकाे राष्ट्रिय वन र सामुदायिक वनमा चार जना , कैलालीकाे सामुदायिक वनमा एक जनाकाे ज्यान गएकाे छ ।
गएकाे वर्षदेखि बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण काेषलगायतका विभिन्न संस्थाले निकुञ्जकाे मध्यवर्ती क्षेत्र आसपासका स्थानीयहरूका लागि मानवीय व्यवहार परिवर्तन विषयक अभियान सुरु गरेपछि निकुञ्ज र सामुदायिक वनभित्र प्रवेश गर्ने क्रम घटेसँगै बाघ आक्रमणका घटना पनि कम भएको छ । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने राष्ट्रिय वन र सामुदायिक वन आसपासका क्षेत्रमा स्थानीयहरू घाँस , दाउरा लिन जाने क्रममा बाघ आक्रमणका घटना हुने गरेको प्रहरीले जनाएको छ ।

२०७९ चैत्र ६, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।