
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि अध्यक्ष दाहालले प्रधानमन्त्रीका लागि प्रतिनिसभाका कुल १६९ जना सदस्यको समर्थनसहितको दाबी पेश गरेका थिए ।
राष्ट्रपति भण्डारीले यही पुस ३ गते सात दिनको समयसीमा दिई प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेकी थिइन् ।
निवेदनमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठको हस्ताक्षर रहेको थियो ।
राष्ट्रपतिसमक्ष पेश गरिएको निवेदनमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूबाट २०७९ पुस ३ गते नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि दाबी पेस गर्न आह्वान भएकोमा सोही समय सीमाभित्रै प्रतिनिधिसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता श्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदमा हाम्रो समर्थन रहेको व्यहोरा अनुरोध गर्दछौँ।
संसदमा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीको ४ सांसद रहेका छन् । त्यस्तै, प्रभु शाह, डा. अमरेशकुमार सिंह र किरणकुमार साह शीतलनिवासमा पुगेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन जनाएका छन् ।