
बुटवल / प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा भेरी वातावरणीय बिशिष्टता समूह (बी–ग्रुप) बाँकेले बर्दिया जिल्लामा बाल विवाह न्युनीकरण सम्बन्धि विभिन्न अभियान सन्चालन गरिरहेका बारेमा आज प्रदेश स्तरीय सिकाई आदानप्रदान समन्वय बैठक सम्पन्न गरेको छ ।
सो समन्वय बैठकमा महिला,बालबालिका,जेष्ठ नागरिक तथा समाजकल्याण मन्त्रालयका प्रमुख महिला विकास अधिकृत शारदा बस्यालले प्लान ईन्टरनेसनल नेपालले बालबालिका तथा महिलाको क्षेत्रमा लुम्बिनी प्रदेशमा धेरै राम्रो कार्य गरिरहेको बताउनु हुदै अझ थप स्थानीय सरकार र प्रदेस सरकारसँग समन्वय तथा सहकार्य गरि सम्पुर्ण जिल्लाको श्रोत नक्साकन गरि प्लान ईन्टरनेसनल नेपालले अन्य जिल्लामा पनि आफनो कार्य क्षेत्र विस्तार गर्नु पर्ने सुझाव दिनुभयो साथै बाल विवाह न्युनीकरणमा स्थानीय सरकारको अहम भुमिका रहने बताउनुभयो । त्यसैगरि शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवालीले प्लान ईन्टरनेसनल नेपालको साझेदारीमा सन्चालित परियोजनाले सन्चालन गरेका परिवर्तनका सम्वाहकको कक्षा सन्चालनले किशोर किशोरीहरुमा सकारात्मक सिकाई वातावरण सिर्जना हुने बताउनुभयो ।
सो बैठकमा विषेश गरि लुम्बिनी प्रदेशमा प्लान ईन्टरनेसनल नेपालको साझेदारीमा सन्चालन भएका परियोजनाको बारेमा प्लान ईन्टरनेसनल नेपालका परियोजना अधिकृत बिमल गैरै प्रष्ट पार्नु भएको थियो साथै प्लान ईन्टरनेसनल नेपालको राष्ट्रिय रणनीति बारेमा सरोकारवाला निकायहरुलाई बताउनुभएको थियो । त्यसै गरि बाल विवाह न्युनीकरण परियोजनाका परियोजना प्रबन्धक जगदिश थापाले बर्दिया जिल्लामा सन्चालन भएका परियोजनाबारे तथा बाल विवाह न्युनीकरण गर्दा आएका चुनौती र तथा सिकाई बारे बताउनुभएको थियो ।
भेरी वातावरणीय विशिष्टता समूह बाँके, मानव अधिकार प्रवद्र्धन, वातावरण संरक्षण तथा आर्थिक, सामाजिक र साँस्कृतीक रुपमा पछाडी पारिएका समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन पहल गर्ने एक नाफा रहित सेवामूलक गैर सरकारी संस्था हो । संस्थाले विशेष गरि बाँके र बर्दिया जिल्लामा बालबालिका तथा महिला अधिकारकालागि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुसंग समन्वय गरि बालबालिका तथा महिलाहरुलाई संगठित पार्ने, क्षमता अभिवृद्धि गर्ने, आर्थिक श्रोतमा पहुँच बढाउने र महिलाहरुलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने काम गरिरहेको छ ।