
नेपालगन्ज / भेरी वातावरणीय विशिष्टिता समूह (बी–ग्रुप)को आज २३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संसदीय सचिवालयका सचिव गोपालनाथ योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो साधारण सभामा प्रमुख अतिथि योगीले संस्थालाई अझ थप संस्थागत दिगापनाको लागि आफु सदैव तत्पर रहेको बताउनुभयो । साथै उहाँले संस्थाको विगतको ईतिहासको सम्झना गर्नु हुदै आगामी दिनहरुमा सफलताको शुभकामना समेत प्रकट गर्नु भएको थियो ।
सो साधारण सभामा बार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव कालिका बस्नेतले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक बार्षिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष नर्वदा दाहालले प्रस्तुत गर्नु भएको थियो । संस्थापक जनक शर्माले शुभकामना दिनु हुदै संस्थामा कार्यरत कर्मचारीहरुलाई सम्मान गर्नु पर्ने र कर्मचारीको हौशला प्रदान गर्नु पर्ने बताउनुभयो ।
जानकी गाउँपालिकाका आईटी अफिसर विकास जिसी , एमडिएमका कार्यक्रम ब्यवस्थापक बशन्त थापा, संस्थाका सल्लाहकार राज कुमार क्षेत्रीले बार्षिक साधारण सभाको शुभकामना ब्यक्त गर्नु भएको थियो । सो साधारण सभामा संस्थामा आर्थिक बर्ष २०७८/०७९ मा सन्चालन भएको परियोजनाको बारेमा परियोजना प्रमुखले प्रस्तुतीकरण गरेका थिए । सो साधारण सभा संस्थाका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण मिरा खनालले गर्नुभएको थियो ।