चितवन । चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । कुमरोज सामुदायिक वनमा आज विहान ८ बजे घाँस काट्न गएका खैरहनी नगरपालिका–१३ बैरियाका ६५ वर्षीय नारायण दाहालको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाँटीमा चोट लागेको र दाहिने खुट्टाको तिघ्राको भाग खाएको अवस्थामा दाहालको शव भेटिएको थियो । दाहालको शवलाई मुचुल्का उठाएर भरतपुर अस्पताल ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।
यसअघि यही वैशाख १६ गते चितवनमै बाघको आक्रमणबाट एकजना माहुतेको पनि मृत्यु भएको थियो । १६ गते करिब साढे ५ बजे चितवनको भरतपुर महानगरपालिका–२३ स्थित चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी बाराको कोल्बी नगरपालिका–१ घर भएका करिब २२ वर्षीय रमेश चौधरी थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो ।






