गुलरिया(बर्दिया) / प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बर्दिया जिल्लामा सन्चालन हुन लागेको टेलिथन, बालिका दुलही होइन परियोजनाको बारेमा भेरी वातावरणीय विशिष्टता समुह(बी– ग्रुप)का कर्मचारीहरुलाई परियोजनाको बारेमा एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । बी–ग्रुपद्धारा सन्चालित टेलिथन, बालिका दुलही होइन परियोजना बर्दिया जिल्लाको मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकामा सन्चालन हुने सो परियोजनाका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी दिनुभयो ।
आज भएको अभिमुखीकरणमा भेरी वातावरणीय विशिष्टता समूह (बी– ग्रुप) का निर्देशक डम्मर सुनारले संस्थाको परिचय, उद्धेश्य,नीति नियम र आचारसंहिता बारे प्रष्ट पार्नु भएको थियो । परियोजनाको उद्धेश्य र कार्यक्रमको बारेमा टेलिथन, बालिका दुलही होइन परियोजनाका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी गराउनु भएको थियो ।
यस परियोजनाको उद्धेश्य विद्यालयहरुमा छात्राहरुको निरन्तरताका लागि सहकार्य गर्ने ,किशोर किशोरीहरुमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि ज्ञान प्रदान गर्न सहयोग गर्ने,युवा विशेष गरि किशोरी तथा युवा महिलाहरुलाई आर्थिक रुपमा सशक्तिकरण गर्नका लागि सहयोग तथा सहकार्य गर्ने,परम्परागत हानिकारक अभ्यासहरुबाट समाजमा भएका विभेदकारी मुल्यमान्यताहरुलाई परिवर्तन गर्न सहकार्य गर्ने र बाल संरक्षण तथा युवा सहभागिता सम्बन्धि नीतिगत ब्यवस्था सुदृढ गरि बाल विवाह, छिटो विवाह र दवावमा हुने विवाहलाई न्युनीकरण गर्न समन्वयत तथा सहजीकरण गर्ने रहेको छ ।
सोही कार्यक्रममा प्राविधिक संयोजक ( संरक्षण) प्रकाश कुमार शर्मा, प्राविधिक संयोजक(शिक्षा) सोम गुरुङ्ग, प्राविधिक संयोजक(SRHR) सुुस्मिता श्रेष्ठले आ–आफनो विषयगत कार्यक्रमको बारेमा फिल्ड सुपरभाईजरलाई जानकारी गराएका थिए भने लेखा अधिकृत भुपेन्द्र खत्रीले लेखाका बारेमा जानकारी दिएका थिए ।






