बर्दिया / अष्ट्रेलियन एडको आर्थिक सहयोग र केएर नेपालको सहकार्यमा भेरी वातावरणीय विशिष्टता समुह ( बी–ग्रुप), बाँकेको आयोजनामा सन्चालिन कोभिड–१९ आपतकालिन प्रतिकार्य र पुर्नःलाभ परियोजना अन्तर्गत बढैयाताल र खजुरा गाउँपालिकाका द्रुत प्रतिकार्य टोलीका सदस्यहरुलाई ३ दिने क्षमता विकास तालिम प्रदान गरिएको छ ।
सो ३ दिने तालिमको प्रशिक्षण स्वास्थ्य निर्देशनालयका श्रवण कुमार नायक र ईपिडिमियोलोजी तथा रोग नियन्त्रणका शम्भु कुमार महतोले सहजीकरण गर्नु भएको थियो । बाँकेको खजुरा गाउँपालिका र बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा गठन भएका द्रुत प्रतिकार्य टोलीका सदस्यहरुलाई क्षमता अभिवृद्धिको लागि सो तालिम प्रदान गरिएको बि–ग्रुपका परियोजना संयाजक दुर्गा पन्थीले जानकारी दिईन् । सो तालिम स्थानीय तहमा नेपालमा नै पहिलो पटक भएको आयोजकले बताएको छ ।
सो तालिममा विपत ब्यवस्थापन प्रणाली बारे जानकारी, जुन सुकै विपतको समयमा कार्य कसरी गर्ने, श्रोत मापन र परिचालन कसरी गर्ने, दक्ष जनशक्ति कसरी परिचालन गर्ने भन्ने बारे प्रशिक्षण गरिएको थियो । सो तालिममा बि–ग्रुपका अध्यक्ष टेक बहादुर पुन, केएर नेपालका मानवीय कार्यमन्च ब्यवस्थापक केशवदत्त भट्ट, स्वास्थ्य विज्ञ बिजेन्द्र बन्जाडे लगायतको सहभागिता रहेको थियो ।






