बुटवल। नेपाल युवा परिषद रुपन्देही शाखाको आयोजना तथा तिलोत्तमा नगरपालिकाको सहयोगमा तिलोत्तमा ५ स्थित राममणि बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई जीवनबृति अभिमुखिकरण (क्यारियर ओरिएन्टेसन) गरिएको छ।
शुक्रबार गरिएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, विशिष्ट अतिथिका रूपमा राममणि बहुमुखी क्याम्पस का क्याम्पस प्रमुख तारा प्रसाद पराजुली, क्याम्पसका प्राध्यापक तथा प्रशिक्षक मुक्ति नाथ गैरे, सेयर विश्लेषक तथा आवास रियल स्टेटका डिरेक्टर विपिन कडेल, तिलोत्तमा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुदीप ढकाल लगायतको उपस्थिति रहेको थियो। सो कार्यक्रमको अध्यक्षता नेपाल युवा परिषद रुपन्देही शाखाका अध्यक्ष कुशल डुम्रेले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सन्ध्या खनालले गर्नु भएको थियो।
करीब ३ घण्टा सम्म निरन्तर चलेको सो कार्यक्रममा १०० जना विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विशेष गरी अहिलेको वर्तमान समयमा युवाहरुले इन्टरनेटको प्रयोग गरी नयाँ सीप कसरी सिक्न सकिन्छ भन्ने विषयमा विपिन कडेलले आफ्ना भनाइहरु राख्नु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथिले सरकारी सेवामा प्रवेश गर्न के के कुरामा ध्यान दिनु पर्छ भन्ने विषयमा आफ्नो विचार व्यक्त गर्नु भएको थियो। त्यस्तै कार्यक्रममा आफ्ना कुरा राख्दै प्रशिक्षक मुक्तिनाथ गैरे तथा सुदीप ढकालले व्यक्तित्व विकास तथा आइडियाको सिर्जना तथा सीप कसरी सिक्न सकिन्छ भन्ने बताउनु भयो।
विद्यार्थीहरुलाई क्यारियर सम्बन्धी जानकारी दिई अहिलेको समयमा कसरी प्रविधिको उच्चतम प्रयोग गरी सीप सिकेर क्यारियर छनौट गर्ने यस कार्यक्रमको उद्देश्य रहेको नेपाल युवा परिषद रुपन्देही शाखाका महासचिव अभिषेक त्रिपाठीले जानकारी दिनु भयो।
कार्यक्रममा उपस्थित विद्यार्थीहरु मध्ये केहीले आफ्ना अनुभव पनि आदानप्रदान गरेका थिए। कार्यक्रममा सिकेका कुरालाई विद्यार्थीले आफ्ना व्यावहारिक जीवनमा पनि लागू गर्छन भन्ने अपेक्षा रहेको क्याम्पस प्रमुखले जानकारी दिनु भयो। कार्यक्रम सोचे अनुरूप सबैको उपस्थितिमा सकुसल सम्पन्न भएको आफू खुसी रहेको कार्यक्रममा अध्यक्ष कुशल डुम्रेले जानकारी दिनु भयो ।






