काठमाडौं । सरकारले युवा परिषदको कार्यकारी उपाध्यक्षमा माओवादी केन्द्रका युवा नेता सुरेन्द्र बस्नेतलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको प्रस्तावमा अखिल क्रान्तिकारीका तत्कालिन उपाध्यक्ष तथा माओवादी केन्द्र उपत्यका विषेश सचिव बस्नेतलाई नियुक्त गरेको हो । बस्नेत बेपत्ता परिवारका सदस्य समेत हुन् । उनको एक दाजु र एक भाई जनयुद्धका क्रममा राज्यद्वारा वेपत्ता पारिएका छन् ।
विद्यार्थी आन्दोलनबाट उदाएका नेता बस्नेत लामो समय अखिल क्रान्तिकारीको बरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता थिए । क्रान्तिकारीमा नयाँ नेतृत्व चयन भएसँगै बस्नेत लगायका नेताहरु पार्टीको केन्द्रीय प्रतिनिधिका रुपमा भर्खरै सम्पन्न महाधिवेशनमा सहभागि भएका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्ने क्रममा रहेका बस्नेतले राजनीति शास्त्र तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन् । झापाका स्थायी बासिन्दा तथा भक्तपुरका अस्थायी बासिन्दा बस्नेतको एक दाजु, एक भाई र बुबासमेत अहिले पनि माओवादी केन्द्रका सक्रिय राजनीतिमा छन् ।






