लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी २०७८ शुरु

|

नेपालगन्ज । महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा महिला उधमीहरूद्वारा उत्पादन गरिएका बस्तुहरूको ” लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी २०७८ ” आज पौष २२ देखि पौष २६ गतेसम्मका लागि विपी चोक नेपालगन्ज स्थित सुनाखरी पार्टी प्यालेसमा सुरु भएको छ । प्रदेशका सबै जिल्लाबाट आएका महिला उद्यमीहरुको ५० बढी स्टलहरु प्रदर्शनीमा रहेका छन् । प्रदर्शनी नि:शुल्क अवलोकन गर्न सकिने छ ।

महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रवर्धन र बजारीकरणका लागि लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी नेपालगन्जमा सुरु भएको हो । महिला उद्यमी संघ बाँकेको आयोजना र महिला उद्यमी संघ नेपालगन्ज वडा नम्बर २ कमिटीको सह–आयोजनामा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र साना तथा घरेलु उद्योग कार्यालय नेपालगन्जको सहयोग र नेपालगन्ज उप–महानगरपालिकाको समन्वयमा प्रदर्शनी आयोजना गरिएको हो ।

लुम्बिनी प्रदेशका वन वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमालले प्रदर्शनीको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा महिला उद्यमी संघका केन्द्रीय अध्यक्ष निरु रायमाझी , लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुना, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ , लायन मधुसुदन रिजाल , नेपालगन्जका विभिन्न वडाध्यक्षहरु एवम् उद्योगी व्यवसायीहरु सहभागी हुनुभएको थियो । महिला उद्यमी संघ बाँके अध्यक्ष निरुपमा रस्तोगीको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा वक्ताहरुले प्रदर्शनीले बजारीकरणमा जान नसकेका उत्पादनहरुले परिचित हुने मौका पाउने अपेक्षा व्यक्त गरेका थिए ।

२०७८ पुष २२, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।