लमजुङ समाज पोखराले तमु ल्होछार साथै रजत जयन्ती मनायो

|

पोखरा । पोखरा महानगरपालिका वडा नं.१५ लक्ष्मीटोलस्थित लमजुङ समाजले शनिवार रामबजारस्थित भँगरकोट पार्टी प्यालेसमा तो ल्होछार एवम समाजको २५ औं वर्षको रजत जयन्ती कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले कार्यक्रमको उद्घाटनका साथै समाजबाट प्रकाशित रजत जयन्ती स्मारिका विमोचन गर्नुहुदै तमु ल्होछारको शुभकामना एवम रजत जयन्तीको अवसरमा समाजको उन्नति प्रगतिको शुभकामना व्यक्त गर्नुभयो। उहाँले विविधताको मुलुकमा जाति,समुदायगतका आधारमा अझै पनि विभेद कायमै रहेकाले सबै सचेत हुदै सबैलाई प्रतिष्पर्धाबाटै उत्कृष्ठता हासिल गरेर तमुहरु अघि बढ्ने सोंचको विकास गर्नुपर्ने बताउनुभयो। गाई वर्गको विदाईसँगै बाघ वर्गको आगमनको अवसरमा तमुहरु अब बाघ झै गर्जने, सफल नेतृत्व लिने बन्नुपर्नेमा जोड दिनुभयो। हामीमा एकताको भावना, सामुहिकताको सँस्कृति भएकाले अघि बढ्न सक्ने तमुहरुलाई सबैले साथ दिनुपर्ने आवाश्यकता रहेको बताउनुभयो। जुनसुकै राजनीतिक पार्टी भए पनि नेतृत्व लिनसक्ने, सामाजिक, शैक्षिक, प्रसासनिक, व्यवसायिक क्षेत्रका तमुहरुलाई साथ दिन अनुरोध गर्नुभयो। नेपालकै सर्वमान्य विद्धान डाक्टर हर्क गुरुङ, समुदायका लागि लामो समय राजनीतिक नेता खगेन्द्र जंग गुरुङ, प्रदेश नं.४ कै पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, तमुहरुको सभ्यता र सँस्कृतिको विकास भएको, ठाडो भाकाले परिचित लमजुङेहरु अघि बढ्न उहाँको भनाई थियो।
कार्यक्रमका विशेष अतिथि पोखरा महानगरपालिका वडा नं.१० का वडाध्यक्ष राजकुमार गुरुङले सभ्यता र सँस्कृति विकास भएको लमजुङको मौलिकता संरक्षण आवाश्यक रहेको बताउनुभयो। उहाँले सँस्कृतिको महत्व तमुहरुले बुझेकै कारण विश्वमा जहाँ पुगे पनि सँस्कृति संरक्षणमा लागि गरेकोले डा. हर्क गुरुङको जिल्लाबासीलाइ अग्रगतिका लागि आफ्नो साथ सहयोग रहने बताउनुभयो।
अर्का विशेष अतिथि पोखरा महानगरपालिका वडा नं.१५ का वडाध्यक्ष प्रकाश पौडेलले शुभकामना व्यक्त गर्नुहुदै विविधतायुक मुलुकमा सद्भाव विकास पर्व ल्होछार अब तमुहरुको मात्रै नभई सबैले नेपालको बनेको बताउनुभयो। पोखरालाई सुन्दर बनाउन तमु लगायत आदिवासी जनजातिमो ठुलो योगदान रहेकाले पोखरामा रहेका लमजुङेहरुलाई सँस्कृति संरक्षण, एकता र सद्भाव विकास गर्ने विश्वास व्यक्त गर्नुभयो। वडाको विकासका लागि आफ्नो वडामा रहेको लमजुङ समाजको साथ सहयोगको लागि उहाँले प्रसंसा गर्नुभयो।
लमजुङ समाजका संस्थापक अध्यक्ष क्या.बीरबहादुर गुरुङले लमजुङबाट पाखरा रामबजार क्षेत्रमा बसोबास गर्ने जिल्लाबासीको एकता, दुख सुखका लागि साथसहयोग, आफ्नो कला संस्कृति विकासका लागि स्थापना गरेको समाजको रजत जयन्ती मनाउन पाउदा अत्यन्तै खुशी रहेको बताउनुभयो।
कार्यक्रममा समाज स्थापनाकालमा समाजको जग्गा खरिदका विशेष सहयोगदाताहरु संस्थापक अध्यक्ष क्या.बीरबहादुर गुरुङ, संस्थापक उपाध्यक्ष बुद्धिमान गुरुङ, वरिष्ठ सल्लाहकार मे.बिर्षराज गुरुङ(स्वर्गीय), सल्लाहकार ले.डिलबहादुर गुरुङ, संस्थापक कोषाध्यक्ष मिथुनबहादुर गुरुङ(स्वर्गीय), संस्थापक सचिव स्टाप सार्जन कृष्णबहादुर गुरुङ(स्वर्गीय), कार्यसमिति सदस्य चिबहादुर गुरुङ, कार्यसमिति सदस्य लालबहादुर गुरुङलाई सम्मान गरिएको थियो।
यसरी नै संस्थापक अध्यक्ष क्या.बीरबहादुर गुरुङ, ठाडो भाका संरक्षक बुद्धिमान गुरुङ, चलचित्रकर्मी खुशबहादुर गुरुङ, वरिष्ठ समाजसेवी कर्णेल जेपी क्रस, लोकगायिकाहरु उमा गुरुङ, माया गुरुङ, ओमकुमारी गुरुङ, प्रतिमा गुरुङ, ठाडो भाका गायिका मिममाया गुरुङ,सिता दुरा, घाँटुसरी मिना गुरुङ, घाँटुसरी पुनमाया गुरुङ लगायतलाई स्रष्टा सम्मान गरिएको थियो।
कार्यक्रममा तरेलीका साँस्कृतिक परिवारका कलाकारहरुले विशेष साँस्कृतिक प्रस्तुतिबाट मनोरञ्जन दिलाएका थिए भने ल्होछार शुभकामना आदान प्रदान साथै भोज समेत आयोजना गरिएको थियो।
समाजका अध्यक्ष सु.बुद्धिबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष देवबहादुर गुरुङ र संचालन सचिव पदमबहादुर गुरुङले गर्नुभएको थियो।

२०७८ पुष १७, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।