नेपालगन्ज / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँके शाखाले गुरुङ समुदायको महान पर्व तमु ल्होसारको अवसरमा एक दिने निशुल्क हेल्थ डेस्क संचालन गर्ने भएको छ । आदिवासी जनजातिको हरेक पर्व धुमधामका साथ मनाउने फोनिज बाँकेले पहिलो बैठकबाट निर्णय गरेपछि गुरुङ समुदायको महान पर्व तमु ल्होसारको अवसरमा निशुल्क हेल्थ डेस्क संचालन गर्ने भएको हो ।
पुष १५ गते गुरुङ समुदायको तमु ल्होसारको अवसरमा भव्य कार्यक्रमको आयोजनामा निशुल्क स्वास्थ्य चेकजाँच गरिनुका साथ सामान्य औषधी पनि प्रदान गरिने फोनिज बाँके शाखाका अध्यक्ष भगतराम थारुले जानकारी गराउनुभयो ।स्वास्थ्यकर्मी सुमन श्रेष्ठको टोलीले हेल्थ डेस्कमा सहयोग गर्नेछ ।
मंसिर २५ गते सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँकेको छैठौं अधिबेशनबाट नवनिर्वाचित कार्यसमितिको पहिलो केन्द्र र प्रदेशको अधिबेशनका लागि तयारी समेत भैरहेको उहाँले जानकारी गराउनुभयो । यस्तै सरकारले पुस १५ गतेको तमु ल्होसारका लागि सार्वजनिक विदा दिने निर्णय गरेकोमा नेपाल सरकारलाई धन्यवाद ब्यक्त गरिएको तमु हयुल छोज धी बाँकेका अध्यक्ष युग बहादुर गुरुङले बताउनुभयो ।






