नेपालगन्ज / नेपालगन्जमा पौष १६ गते शुक्रवार नेवाः देयः दबू बाँकेको आतिथ्यमा हुने नेवाः देयः दबूको केन्द्रीय विधान अधिवेशनको अन्तिम तयारी गरिएको छ ।
नेवारी भाषा, कला, संस्कृतिको संरक्षण, संवर्धन र प्रवर्द्धन गर्ने प्रमुख उद्देश्यका साथ स्थापित नेवारहरुको साझा छाता संगठन नेवाः देयः दबू बाँकेका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको संयोजकत्वमा गठित विभिन्न समितिहरुले आ–आफ्ना जिम्मेवारीका कामको अन्तिम तयारी गरिरहेका छन् ।
राष्ट्रिय विधान अधिवेशनमा सहभागी हुन ६८ जिल्लाका करीब ४ सय जना नेवास् प्रतिनिधिहरु नेपालगन्ज आउन लागेका छन् । शुक्रबार बिहान मगर , गुरुङ्ग , थारु , पञ्चे बाजा , शिख समुदाय लगायतको जातिय संस्कृति झल्किने खालका झाँकीहरु विशाल र्यालीमा सहभागी गराइनेछ । साथै भेरी इ.मि. हाईस्कुलबाट पाँच कुमारी समेत सबै जातजातिलाई समेटेर तयार गरिने छ ।
काठमाडौंबाट पनि नेवारहरुको अत्यन्तै लोकप्रिय र चर्चित नृत्य लाखे नाच , धिमे बाजागाजा सहित कुमारी नाच , टिपिकल नेवारी नृत्य पनि अधिवेशन पूर्व आयोजना गरिने र्यालीमा प्रदर्शन गरिने छ । शुक्रवार विहान ८ बजे भानुचोक न्यूरोडमा भेला भई विभिन्न झाँकी सहितको विशाल र्याली धम्बोझी चोक , घरबारी टोल , बागेश्वरी टोल , त्रिवेणी मोड , सदरलाइन , त्रिभुवन चोक , रानी तलाउ , गगनगन्ज हुँदै अधिवेशन स्थल डिएसपि रोड स्थित म्याजेस्टिक पार्टी प्यालेसमा पुग्नेछ ।






