लेखक कृष्ण आचार्यको उपन्यास ‘ब्लु डायरी’ को पुस्तक विमर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

|

बुटवल । लेखक कृष्ण आचार्यको उपन्यास ‘ब्लु डायरी’ को पुस्तक विमर्श तथा अन्तरक्रिया कार्यक्रम बुटवलको चिया चौतारी बूक क्याफेमा सम्पन्न भयो ।
चिया चौतारीको सभा हलमा बुधबार साहित्य अभियन्ता तथा समाजसेवी भुवन अर्याल र राष्ट्रिय पुस्तकालय तथा कारागार पुस्तकालय अभियानका अभियन्ता शुभद्र पोख्रेलले `ब्लु डायरी´को समीक्षा गरेका थिए ।
भुवन अर्यालले उपन्यासमा मान्छेका कथा मात्र नभएर प्राकृतिक विम्बलाई पनि समेटिएको बताए । चराचुरुङ्गीले देखाएको दर्शनलाई सुन्दर चित्रण गरिएको कुरा उल्लेख गरे । उपन्यासले प्रेममा धोका खाएका वा विक्षिप्त भएकाहरूका लागि मनो चिकित्साको काम गर्ने बताए । प्रेममा हार खानु भनेको जीवनको अन्त्य होइन बरु नयाँ जीवनको आरम्भ पनि हुन सक्छ भनेर बताए । उपन्यासले सकारात्मक सन्देश दिएको कुरालाई पनि जोड दिए ।
सुभद्र पोख्रेलले उपन्यास बारे बोल्दै पुस्तकमा युवायुवती बिचको प्रेम मात्र नभएर बाबुछोरा,दिदीभाइ,प्रकृति आदिको सम्बन्ध र प्रेमलाई बढो सुन्दर ढंगले बयान गरिएको बताए ।ब्लु डायरी भित्र नेपालको विभिन्न पर्यटकीय स्थानको मनोरम दृश्य शब्दको गहिराइमा पाउन सकिने पनि बताए । यस उपन्यासले सहि अर्थको प्रेमको पाठ सिकाएर प्रेमको वास्तविक अर्थ बुझाउन प्रेरणा र उर्जा दिने कुरामा पनि जोड दिए । कसैलाई पनि हानी नपुर्‍याई आफू खुसी हुन सकिने मानवताको सन्देश दिएको कुरा पनि प्रष्टाए ।
उपन्यास बारे आफ्नो मन्तव्य व्यक्त गर्दै लेखक कृष्ण आचार्यले भने, `ब्ल्युडायरी युवा पुस्ताको कथा हो । उनीहरुको संघर्ष, प्रेम,असफलता अनि सफलताको कथा हो । पुस्तको जीवनदेखी हारेका या हार्दै गरेकालाई उत्साह,हौसला,प्रोत्साहन, प्रदान गर्दै अघि बढ्न प्रेरित गर्छ भन्ने मेरो विश्वास हो । सबैभन्दा पहिलो कुरा त पुस्तक पढेपछि पाउने सन्तुष्टि पाइन्छ । ३५० रुपैयाँ खेर फालेको अनुभूति हुँदैन । अर्को कुरा पुस्तकमा मैले नयाँ विषय (लेखक र पाठकको कथा) उठान गरेको छु । जसकारण लेखकले आफ्नो र पाठकले आफ्नो अनुभव गर्नुहुन्छ । यहाँ सम्बन्धको कुरा चाहे त्यो प्रेममा होस्, चाहे प्राकृतिक र पारिवारिक आफूसँग आफ्नो सम्बन्ध होस् या प्रकृतिसँग मान्य सम्बन्ध चाहे त्यो लेखक र पाठकको सम्बन्ध नै किन नहोस् । यस पुस्तकको नयाँपन भनेकै सम्बन्ध हो । सम्बन्ध बचाउनु छ भने सबैलाई पुस्तक पढ्न आग्रह गर्छु , त्यो आफैँसँगको सम्बन्ध होस् वा अरुसँगको ।´
कार्यक्रममा हिमालय बूक हाउसका सञ्चालक माधव गौतमले लेखकलाई खादा लगाएर सम्मान गरेका थिए । बिएन पुस्तक संसारका प्रबन्ध निर्देशक सुर्य बिसिले कार्यक्रममा सहभागी भएर लेखकको हौसला बढाएका थिए । कार्यक्रमको सञ्चालन कवि जनक कार्कीले गरेका थिए ।
कार्यक्रमको उत्तरार्धमा दर्शकले लेखकलाई प्रश्न सोधेका थिए । प्रश्नोत्तर सिलसिलामा नेपाली साहित्यमा भएका वेथिति,गुटउपगुट,विकृति लगायत लेखनबाट हुने आत्मसम्मान र नयाँ लेखकले गर्नुपर्ने महत्वपूर्ण विषयमा चर्चा परिचर्चा भयो । यसअघि आचार्यको ‘अप्रिल फुल’ नामक उपन्यास प्रकाशित छ । बिएन पुस्तकले बजारमा ल्याएको ‘ब्लु डायरी’ उपन्यासको मूल्य ३५० रुपैयाँ रहेको छ ।

२०७८ मंसिर २९, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।