मध्यपश्चिम र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयबीच सहकार्यबारे छलफल

|

धनगढी। मध्यपश्चिम विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयबीच स्वास्थ्य विज्ञानका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ। मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति ई. डा. राजन सुवालको नेतृत्वमा रहेको टोली र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, धनगढी, कैलालीका उपकुलपति प्रा. डा. सुनिल कुमार जोशीको नेतृत्वमा रहेको टोलीबीच विश्वविद्यालयको केन्द्रीय कार्यालयमा भेटवार्ता भएको हो।

भेटवार्तामा दुई विश्वविद्यालयबीच स्वास्थ्य विज्ञानसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन, शिक्षण तथा अनुसन्धान, जनशक्ति विकास र अनुभव आदान–प्रदानलगायतका विषयमा सहकार्य गर्न सकिने सम्भावनाबारे छलफल भएको थियो। त्यसैगरी, स्वास्थ्य विज्ञानको क्षेत्रमा उपलब्ध ज्ञान, सीप र स्रोतको आदान–प्रदान गर्दै आगामी दिनमा दुवै विश्वविद्यालयबीच आपसी समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।

भेटवार्तामा मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार डा. सुदीप ठकुरी, विभिन्न निर्देशनालयका कार्यकारी निर्देशक, प्राध्यापक तथा उपकुलपति र रजिस्ट्रार सचिवालयका सदस्यहरूको सहभागिता रहेको थियो। त्यस्तै, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका तर्फबाट रजिस्ट्रार डा. भीमबहादुर चन्दलगायतका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

दुवै विश्वविद्यालयका पदाधिकारीहरूले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, स्वास्थ्य विज्ञानमा अनुसन्धान विस्तार तथा दक्ष जनशक्ति विकासका लागि संस्थागत सहकार्य महत्वपूर्ण हुने धारणा राखेका थिए। भेटवार्ताले आगामी दिनमा स्वास्थ्य विज्ञान, अनुसन्धान तथा शैक्षिक क्षेत्रमा दुई विश्वविद्यालयबीच सहकार्यका थप आधार निर्माण हुने अपेक्षा गरिएको छ।

२०८३ आश्विन ६, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।