नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ स्वास्थ्य शाखाको आयोजनामा ब्रीटिस इङ्लिश बोर्डिङ स्कुल, नेपालगञ्ज–१९ मा विद्यार्थी लक्षित स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। विद्यालयमा अध्ययनरत माध्यमिक तहका विद्यार्थीहरूको सहभागितामा आयोजित कार्यक्रममा स्वास्थ्य, सरसफाइ तथा किशोरावस्थामा हुने शारीरिक, मानसिक र भावनात्मक परिवर्तनका विषयमा जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा सि.अहेव किरण कुमार थारु र जनस्वास्थ्य अधिकृत सुनिल बज्राचार्यले किशोरावस्थामा शरीरमा हुने परिवर्तन, व्यक्तिगत सरसफाइ, स्वच्छ वातावरण, स्वस्थ जीवनशैली तथा विभिन्न स्वास्थ्य समस्याबाट बच्ने उपायबारे सहजीकरण गरेका थिए। किशोरावस्थामा उचाइ तथा तौल बढ्ने, शरीरको बनावटमा परिवर्तन आउने, आवाज परिवर्तन हुने, छालामा डन्डीफोर आउने तथा शरीरमा रौँ पलाउनेजस्ता परिवर्तनहरू स्वाभाविक प्रक्रिया भएको जानकारी दिँदै यस्ता परिवर्तनलाई सहज रूपमा स्वीकार गर्न विद्यार्थीलाई सुझाव दिइएको थियो। त्यस्तै, किशोरावस्थामा देखिन सक्ने भावनात्मक तथा मानसिक परिवर्तन, आत्मविश्वास, तनाव व्यवस्थापन र सकारात्मक सोचका विषयमा पनि जानकारी दिइएको थियो। आफ्ना समस्या अभिभावक, शिक्षक वा स्वास्थ्यकर्मीसँग खुलेर साझा गर्न विद्यार्थीलाई आग्रह गरिएको थियो। कार्यक्रममा किशोरीहरूका लागि महिनावारीका समयमा अपनाउनुपर्ने व्यक्तिगत सरसफाइ, सुरक्षित तथा स्वच्छ सामग्रीको प्रयोग, नियमित रूपमा सामग्री परिवर्तन गर्ने बानी तथा महिनावारीसम्बन्धी भ्रम र गलत धारणाबाट मुक्त हुनुपर्ने विषयमा समेत सचेतना प्रदान गरिएको थियो।

विद्यार्थीलाई नियमित रूपमा हात धुने, शरीर तथा वरपरको वातावरण सफा राख्ने, पौष्टिक तथा स्वस्थकर खानपान अपनाउने, पर्याप्त निद्रा र शारीरिक गतिविधिमा ध्यान दिने तथा स्वास्थ्यसम्बन्धी समस्या देखिएमा समयमै स्वास्थ्यकर्मीको परामर्श लिन सुझाव दिइएको थियो। विद्यालयका प्रधानाध्यापक हेमन्त राज काफ्लेले विद्यार्थी उमेरमै स्वास्थ्य, सरसफाइ तथा किशोरावस्थामा हुने परिवर्तनबारे सही ज्ञान र सकारात्मक व्यवहार विकास गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए। उनले विद्यार्थीले कार्यक्रममा प्राप्त गरेको स्वास्थ्यसम्बन्धी ज्ञानलाई दैनिक जीवनमा व्यवहारमा उतार्दै परिवार र समुदायसम्म पनि सकारात्मक सन्देश पुर्याउने विश्वास व्यक्त गरे। कार्यक्रममा सहभागी कक्षा ९ का विद्यार्थी रितेस पोख्रेलले किशोरावस्थामा हुने शारीरिक तथा मानसिक परिवर्तन, सर्ने तथा नसर्ने रोग, व्यक्तिगत सरसफाइ र स्वस्थ जीवनशैलीका विषयमा उपयोगी तथा व्यवहारिक जानकारी प्राप्त भएको बताए।






