बेतहनी(बाँके) / डुडुवा गाउँपालिकाको वडा नंं. २ मा अवस्थित बेतहनी बजारबाट उत्पादित फोहर ब्यवस्थापनको लागि स्थानीय युवाहरु सक्रिय भएर लागेका छन् ।
सहयोगी युवाहरुको सन्जाल,बेतहनीका यूवा र प्रहरी चौकी बेतहनीको सक्रियतामा बेतहनी बजारबाट उत्पादित फोहर ब्यवस्थापनका लागि ६ वटा डस्टविन बेतहनी बजारमा राखिएको प्रहरी चौकीका इन्चार्ज कुलबहादुर विकले जानकारी दिनुभयो ।
डस्टविन राख्ने कार्यक्रममा सहयोगी युवाहरुको सन्जाल,बेतहनीका यूवा र प्रहरीको टोलीले घर, पसल, होटलबाट उत्पादन भएको फोहरले बजार दुर्गन्धित हुने तथा यसले बजारको सौन्दर्यकरण तथा मानव स्वास्थ्यमा असर गर्ने भएकोले फोहर ब्यवस्थापनमा सहयोग गर्न स्थानीयलाई सुझाव दिएको सरसफाई अभियानकर्मी रविन्द्र चौधरी बर्माले जानकारी दिए ।

उनले बेतहनी बजारलाई सफा बनाउन यूवाले अभियान थालेको बताए । उनले प्रहरी चौकीका इन्चार्ज विकको सक्रियतामा यहाँका यूवा सरसफाई अभियानमा सक्रिय भएको बताए । ‘फोहरले बजारको सौन्दर्यकरणमा असर परेको हामीलाई पहिलेदेखि महशुस भएको थियो, तर अभियान संचालनको मेसो पाइरहेका थिएनौँ । प्रहरी चौकीका इन्चार्ज कुलबहादुरजी आएपछि उहाँले अभियान चलाउने प्रेरणा दिनुभयो,’ उनले भने ।
बेतहनी प्रहरी चौकी र सहयोगी युवाहरुको सन्जाल,बेतहनीका यूवाको अगुवाईमा स्थानीयले एक महिनाअघि पहिलो पटक बजारको सरसफाई गरेका थिए । बजारको सौन्दर्यकरणका लागि सरसफाई अभियानका साथै सचेतनामुलक कार्यक्रम संचालन गर्ने तयारी गरेको अर्का सरसफाई अभियानकर्मी मेराज दर्जीले बताए । त्यसै गरि अर्का युवा धर्मबिर सोनीले यो अभियानमा साथ दिएका छन् ।






