काठमाडौं /असोज १९ गते गोदावरीमा विधान महाधिवेशन समापन गर्ने क्रममा विष्णु पौडेलतिर फर्किएर अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए-दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा हुनेछ । एमालेको आधारक्षेत्र नै मानिने लुम्बिनीको बुटवलमा २०६५ मा सम्पन्न आठौं महाधिवेशनमा ओली झलनाथ खनालसँग अध्यक्षमा पराजित भएका थिए । यद्यपी लुम्बिनी र अझ बुटवल एमालेको आधारभूमि हो र अझ ओलीको शक्तिकेन्द्र । महाधिवेशन आयोजना बुटवलमा हुँदा बिष्णु पौडेल बढि खटिनुपर्यो ।
तर काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनबाट अध्यक्ष बनेका ओलीले बुधवार वागमती प्रदेश कमिटीको बैठकमै दशौं महाधिवेशन चितवनमा हुने संकेत दिए । प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले दशौं महाधिवेशन वागमतीले आयोजना गर्न पाउनुपर्ने प्रस्ताव राखेका थिए ।
नभन्दै बिहीवार बसेको स्थायी कमिटी बैठकले चितवनमा दशौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यतिमात्र होइन चितवनबाटै एकपटक माओवादी उम्मेदवार बनेर जितिसकेका रामबहादुर थापा बादललाई महाधिवेशन मूल व्यवस्थापन समितिको संयोजक समेत बनाएर ओलीले एकैसाथ तीन मुख्य सन्देश दिन खोजेका छन् ।
सामान्य अवस्थामा चितवनमा महाधिवेशन आयोजना हुनु आफैंमा ठूलो चर्चाको विषय नहुन सक्थ्यो । तर पछिल्लो राजनीतिक घटनाक्रम र नेकपा विभाजन तथा एमाले विभाजनपछिको अवस्थामा एमालेले चितवनलाई नै रोज्नु र बादललाई नै संयोजक बनाउनुको भने अर्थ छ ।
चितवनमै महाधिवेशन गर्दा एमालेका प्रभावशाली नेता र नवौं महाधिवेशनमा महासचिव पराजित चितवनबाटै निर्वाचित सुरेन्द्र पाण्डेलाई मूल व्यवस्थापन समितिको संयोजक बनाउन सकिन्थ्यो । तर बादललाई नै किन ? एमालेले नभने पनि बुझ्न सकिने तर्क भनेको यो एमाले नेकपा एकताको निरन्रतता हो, पूरानो एमालेमात्र होइन भनेर सबैले बुझ्ने र सुन्नेगरि बताएको हो ।






