नेपालगन्ज मेडिकल कलेजमा कर्मचारीद्वारा तालाबन्दी

|

नेपालगन्ज । विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीले आज प्रशासनिक कक्षमा तालाबन्दी गरेका छन् । तलव वृद्धि, भत्तालगायतका विभिन्न सात बुँदे माग राखेर उनीहरु हिंजोदेखि आन्दोलनमा उत्रिएका हुन् ।
कर्मचारी संगठन, कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनको संयुक्त आन्दोलनरत कर्मचारीहरुले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।तलवभत्ता वृद्धि हुनुपर्ने, दरवन्दी सिर्जना, पदपूर्ति र बढुवा हुनुपर्ने, अवकाश, उपदान, बीमा, सामाजिक सुरक्षा कोषलाई व्यवस्थित र प्रभावकारी गराइनु पर्नेलगायतका माग उनीहरुको छ । आन्दोलन परिचालन समितिका सहसंयोजक मुनिर खाँले पर्सिसम्म आफ्ना माग सम्वोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिनुभयो जोखिम र फर्मालिन भत्तालाई दुई सयबाट वृद्धि गरी पाँच सय गरिनु पर्ने उहाँको माग छ । कोरोनाको महामारीमा आफ्नो ज्यानको बाजी राखेर स्वास्थ्यकर्मी खटिए । उनीहरुले जोखिम भत्ता पाएका छैनन् । सरकारले निर्धारण गरेको जोखिम भत्ता पाउनु पर्यो । नाइट ड्यटी कर्मचारीले खाजा नास्ता स्वरुप अहिले एक सय ५० रुपैयाँ पाउँदै आएका छन् ।
त्यसलाई समयानुकुल वृद्धि गरी पाँच सय पुर्याउनु पर्यो । इन्चार्ज, लेखा र प्राविधिक भत्ता वृद्धि गरी दुई हजार बनाउनु पर्छ । आवास तथा यातायात सुविधा नपाएका कर्मचारीलाई प्रतिमहिना दुई हजारका दरले आवास तथा यातायात सुविधा दिनु पर्छ भन्ने माग छ उहाँले भन्नुभयो ।

 

२०७८ कार्तिक २, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।