नेपालगन्ज/ नेपाल प्रेस युनियन बाँकेले पत्रकारहरुको लागि निःशुल्क स्वास्थ्य शिविर तथा तिजको अवसरमा महिला पत्रकारहरुको लागि लेखन अभिवृद्धि कार्यक्रम गर्ने भएको छ । युनियन बाँकेको आइतबार बसेको कार्यसमितिको दोस्रो बैठकले पत्रकारहरुको लागि निःशुल्क मृर्गौला परीक्षण शिविर तथा महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा लेखनवृत्ति कार्यक्रम गर्ने निर्णय गरेको हो । अध्यक्ष कमल खत्रीको अध्यक्षतामा बसेको बैठकले युनियनका संस्थापक स्व.पन्नालाल गुप्त (चाचाजी) को जन्मजयन्तीको अवसरमा यही भाद्र २७ गते नेपालगन्जमा पत्रकारहरुको लागि निःशुल्क मृर्गौला परीक्षण शिविर गर्ने तथा यही भाद्र महिनाभित्र तिजको अवसरमा महिला पत्रकारहरुको लागि लेखनवृत्ति कार्यक्रम गर्ने तय गरिएकाे सचिव भिष्म लोधले जानकारी दिनुभयो । स्व.पन्नालाल गुप्त स्मृति प्रतिष्ठान, सेन्ट्रल सिटी हस्पिटल, नेपाल पत्रकार महासंघ बाँकेको समन्वय सहकार्यमा स्वास्थ्य शिविर गरिनेछ । रसुवामा आएकाे बाढीका कारण देश नै दुःखी भएकाे कारण हरितालिका तिजको अवसरमा गरिने अन्य कार्यक्रम नगरेर लेखनवृत्ति कार्यक्रम मात्र गर्ने निर्णय गरेकाे छ । यसैगरी युनियनले “युनियन संवाद” कार्यक्रम गर्ने भएको छ । समाजमा रहेका समसामायिक समस्या तथा मुद्दाका सवालमा नियमित रूपमा युनियन संवाद कार्यक्रम गर्ने भएको हो ।






