गुरुकुल सहकारीको १६औँ साधारणसभा उद्घाटन, १३ करोड ८५ लाखभन्दा बढी कारोबार

|

नेपालगञ्ज। “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने मूल नारासहित गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष प्रदीप चौधरीको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन प्रमुख अतिथि तथा संस्थाकी ज्येष्ठ सदस्य गिरीजा श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। कार्यक्रममा जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

साधारणसभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले सदस्यहरूमा १० करोड २१ लाख १५ हजार ५ सय ३७ रुपैयाँ ९७ पैसा कर्जा लगानी गरेको जानकारी दिइएको छ।

त्यस्तै, संस्थाको शेयर पुँजी १ करोड १५ लाख ४२ हजार रुपैयाँ पुगेको छ भने सदस्यबाट संकलित निक्षेप ९ करोड ५४ लाख ३४ हजार ३ सय ९४ रुपैयाँ ८३ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ। संस्थाको कुल कारोबार १३ करोड ८५ लाख २३ हजार ४ सय ६१ रुपैयाँ ४६ पैसा पुगेको जनाइएको छ।

साधारणसभामा संस्थाका सल्लाहकार तथा पूर्व अध्यक्ष प्रेम बहादुर सुवेदी, सल्लाहकार तथा पूर्व अध्यक्ष सुरेन्द्र सिंह सरदार, नेपालगञ्ज उपमहानगरपालिका सहकारी शाखा प्रमुख प्रबिन राना, ॐ साई बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक शम्भु बहादुर अधिकारी तथा नेपाल पत्रकार महासंघ बाँके जिल्ला सदस्य सलामत अली शेषलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाका उत्कृष्ट बचतकर्ताहरू तथा संस्थाको विकास र प्रगतिमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो। साधारणसभाले आगामी वर्षका नीति, योजना तथा कार्यक्रमहरू अनुमोदन गर्दै संस्थालाई थप पारदर्शी, उत्तरदायी, व्यवस्थित र सदस्यमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

सहकारीले सदस्यहरूको आर्थिक सशक्तीकरणसँगै उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आगामी दिनमा सेवा विस्तार र संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउने जनाएको छ।

२०८३ भाद्र १४, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।