बाँके / बाँकेको डुडुवा गाउँपालिका–५,कम्दी निवासी दुई बालबालिका राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेका छन्। घटनामा एक बालकको शव फेला परेको छ भने अर्की बालिकाको खोजी कार्य जारी रहेको छ।
असार २७ गते साँझ करिब ६ बजे ९ वर्षीय सुलभ रावत र ११ वर्षीया खुशी सिजापती राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए।
घटनापछि स्थानीयवासी, प्रहरी तथा अन्य सरोकारवाला निकायको संयुक्त प्रयासमा खोजी कार्य सञ्चालन गरिएको थियो। खोजीका क्रममा सुलभ रावतको शव आज फेला परेको छ।
यद्यपि, खुशी सिजापतीको अवस्था अझै अज्ञात रहेको छ। उनको खोजी कार्य नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा निरन्तर जारी रहेको सम्बन्धित निकायले जनाएको छ।
वर्षायामसँगै नदीको बहाव बढेकाले नदी तथा खोलानालामा पौडी खेल्न वा अनावश्यक रूपमा प्रवेश नगर्न स्थानीय प्रशासनले सबैमा आग्रह गरेको छ।






