विकास साझेदारी थप सुदृढ बनाउने प्रतिबद्धता
काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डा बीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल सरकार र एडीबीबीचको करिब छ दशक लामो विकास साझेदारीलाई अझ प्रभावकारी र सुदृढ बनाउने विषयमा छलफल भएको छ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार करिब आधा घण्टा चलेको भेटवार्तामा प्रधानमन्त्री शाहले सुशासन, पारदर्शिता र प्रभावकारी कार्यसम्पादनमार्फत नेपालको विकासले आगामी दिनमा नयाँ गति लिने विश्वास व्यक्त गर्नुभयो।
भेटका क्रममा जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्ने, डिजिटल रूपान्तरण ९डिजिटलाइजेसन० लाई तीव्रता दिने तथा पर्यटकीय सडक पूर्वाधारको विस्तारमा सहकार्य गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको थियो।
एडीबी अध्यक्ष कान्डाले नेपालमा विकास सहयोगलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालको आर्थिक विकास र समृद्धिका लागि एडीबी दीर्घकालीन विकास साझेदारका रूपमा निरन्तर सहयोग गर्न तयार रहेको बताउनुभयो।
उहाँले नेपालको आर्थिक विकासका लागि रहेको ठूलो सम्भावना, बलियो जनादेश तथा युवा नेतृत्वको प्रशंसा गर्दै नेपालको सफलतामा एडीबी सधैँ सहयात्री रहने प्रतिबद्धता दोहोर्याउनुभयो।
अध्यक्ष कान्डाले नेपालको युवा नेतृत्व र सुधारप्रतिको प्रतिबद्धता प्रेरणादायी रहेको उल्लेख गर्दै विकास र समृद्धिको यात्रामा एडीबीको साथ निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।






